उपायमा डोल्मा इम्प्याक्ट फन्ड-२ को २८ करोड थप लगानी

काठमाडौं । उपायले डोल्मा इम्प्याक्ट फन्ड २ बाट २८ करोड रुपैयाँ (अमेरिकी डलर २ मिलियन) सफलतापूर्वक थप लगानी संकलन भएको घोषणा गरेको छ । यो लगानीले नेपालको लजिस्टिक्स क्षेत्रलाई अझ छिटो, प्रभावकारी र समावेशी बनाउने उपायको महत्वपूर्ण यात्रामा एक उल्लेखनीय मोडको रूपमा चित्रित गरेको छ ।

साथै, उपायले २७ करोडको थप लगानी निजी रूपमा संकलन गर्दै कुल लगानी रकम ५५ करोड जुटाउने यस चरणलाई बन्द गर्ने प्रक्रियामा रहेको जनाएको छ । सन् २०१९ मा व्यावसायी, चालक र ग्राहकहरूलाई सहज डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यका साथ काठमाडौं केन्द्रित स्टार्टअपको रूपमा स्थापना गरिएको उपाय आज नेपालको हजारौं व्यावसायीहरूलाई Door-to-Door डेलिभरी सेवा प्रदान गर्दै तेस्रो पक्ष लजिस्टिक्स गोदाम सेवाहरू सहित नेपालको अग्रणी लजिस्टिक्स समाधान प्रदायकको रूपमा स्थापित भएको छ ।

आजको दिनसम्म उपायले रु २०० करोडभन्दा बढी लगानी जुटाइसकेको छ । यस चरणसहित, डोल्मा इम्प्याक्ट फन्ड २ (जसका लगानीकर्ताहरूमा FMO, BII, SwedFund, IFC, DFC, र JICA छन्) ले मात्र ७१ करोड लगानी गरेको छ र उपायको सबैभन्दा महत्वपूर्ण र निरन्तर लगानी साझेदारको भूमिका निर्वाह गरेको छ ।

उपायका प्रबन्ध निर्देशक एवं सह-संस्थापक सुमन रायमाझीले भने, “यो लगानी संकलन केवल पूँजीको लागि मात्र होइन – यो राइड्स, खाना, वस्तु र व्यवसाय क्षेत्रहरूलाई समग्र रूपमा समेटेर धेरै व्यवसाय तथा जीविकोपार्जनका अवसरहरू खोल्नका लागि एउटा कोशेढुंगा हुने कुरा हो ।

यससहित, हामी हाम्रो प्लेटफर्मको विस्तार, Ecosystem लाई सुदृढीकरण गर्न तथा श्रीलंका र भुटान जस्ता क्षेत्रीय बजारहरूमा नवीनतम सेवाहरू स्थानान्तरण गर्दै, नेपालका नयाँ स्टार्टअपहरूका लागि नयाँ मापदण्ड र आशा स्थापित गर्ने लक्ष्य राखेका छौं”

यो नयाँ लगानी प्रविधि विकासलाई तीव्र बनाउन प्रयोग गरिनेछ, जसमा ग्राहक अनुभव सुधारका लागि एआई-आधारित लजिस्टिक्स प्लेटफर्म विकास, नेपालभर २०० शाखामा विस्तार गरी दक्षता र नेटवर्क वृद्धि, साथै 3PL गोदाम परियोजनामा इक्विटी सहभागिता– जस्ता योजना समावेश छन्।

डोल्मा फन्ड म्यानेजमेन्टका संस्थापक तथा सीईओ ( डोल्मा इम्प्याक्ट फन्ड II का प्रबन्धक) टिम गोचर OBE ले भने “उपायले केवल लजिस्टिक्स समस्या मात्र समाधान गरिरहेको छैन – यसले नेपालभर छिटो र दिगो लजिस्टिक्स नेटवर्क विकासका लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ । यसको सशक्त कार्यान्वयन, गहिरो स्थानीय ज्ञान र विस्तारयोग्य प्रविधिले दीर्घकालीन प्रभाव सिर्जना गर्न सक्षम साझेदार बनाएको छ ।”

उपायका सह-संस्थापक तथा निर्देशक रंजीव श्रेष्ठका अनुसार — “सुरुवाती दिनदेखि हालसम्मको यात्रामा, डोल्माको विश्वास, पूँजी र रणनीतिक मार्गदर्शनले हाम्रो लक्ष्यलाई वास्तविकतामा परिणत गर्न महत्वपूर्ण योगदान पुऱ्याएको छ । नेपाल र नेपाल बाहिर लजिस्टिक्समा रूपान्तरण ल्याउने हाम्रो आकांक्षामा, डोल्मा र अन्य लगानीकर्ताहरूको विश्वासले हामीलाई गुणस्तरीय सेवालाई रचनात्मक र साहसी रूपमा विस्तार गर्ने ऊर्जा दिएको छ ।”

उपायले विभिन्न ढुवानी आवश्यकताहरू जस्तै माल ढुवानी, भण्डारण, फुलफिलमेन्ट, गोदाम व्यवस्थापनदेखि अन्तिम चरणको वितरणसम्मका समग्र समाधानहरू प्रदान गर्दै आएको छ । बलियो चालक-साझेदार सञ्जाल र देशव्यापी पहुँचको साथ, उपायले माग र आपूर्तिको सहज एकीकरण सुनिश्चित गरेको छ ।

यसको अत्याधुनिक प्रविधि प्लेटफर्मले दुई पाङ्ग्रे, चार पाङ्ग्रे र ठूला ट्रकमार्फत पहिलो, मध्य र अन्तिम चरणको लजिस्टिक्सलाई दक्षतापूर्वक व्यवस्थापन गर्न सक्षम बनाउँछ ।

कम्पनीको पूर्वाधारमा काठमाडौंस्थित अत्याधुनिक डिजिटल ट्रान्सपोर्ट नगर र पेप्सीकोलास्थित १८,०००+ वर्गफुटको फुलफिलमेन्ट सेन्टर, साथै देशभर ७ क्षेत्रीय कार्यालय, ५५ + सपोर्ट हब र ३५०+ ड्रप अफ लोकेसनको मजबुत सञ्जाल समावेश छन् ।

हाल, उपायले काभ्रेपलाञ्चोकको साँगास्थित आफ्नै १९ रोपनी जमिनमा नेपालको पहिलो ठूलो स्तरको 3PL गोदाम परियोजना विकास गरिरहेको छ। अन्तर्राष्ट्रिय विस्तारका क्रममा, यसले श्रीलंकास्थित अलायन्स फाइनान्स कर्पोरेसनसँग साझेदारी गर्दै कोलम्बोमा आफ्नो “Delivered” लजिस्टिक्स प्लेटफर्म सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार