CLI

कहाँका किसानले बेच्दैछन् दैनिक १० हजारभन्दा बढीको स्कुस ?

गाईघाट । सदरमुकाम गाईघाटमा हरियो सागसब्जीको मूल्य महँगिँदै गइरहेका बेला पहाडी क्षेत्र रौता, साउने, खाँबु, रौतामलबासे, सल्लेलगायत क्षेत्रमा उत्पादित स्कुस दैनिक १० हजारको हाराहारीमा कारोबार हुन थालेको छ ।

खाँबुका स्कुस उत्पादक किसान टङ्कबहादुर मगरका अनुसार साउनको अन्तिम सातादेखि यहाँ उत्पादित स्कुस गाईघाट बजार क्षेत्रमा बिक्री गर्न सुरु भएको हो ।

खाँबुका अर्का किसान देवराज खत्रीले पनि अहिले गाईघाट, देउरी, बगाहासहित सिरहा क्षेत्रबाट स्कुस खरिद गर्न व्यापारी आउने गरेकाले दैनिक १० हजारभन्दा बढीको बिक्री सुरु गरेको बताए । साउन अन्तिम सातासम्ममा दैनिक १० देखि २० हजारसम्ममा स्कुस गाउँघरबाट बिक्री हुन थालेको उनले जानकारी दिए ।

गाईघाट सब्जी बजारका व्यापारी कुमारी कटुवालका अनुसार अहिले पहाडी क्षेत्रमा स्कुस प्रतिकिलो ३० देखि ४० पर्ने गरेको जनाउँदै व्यापारीले ६० प्रतिकिलोका दरले बिक्री गर्दै आएका बताए।

अहिले गाईघाटमा जिल्ला बाहिरबाट आयातित सब्जी दोब्बर महँगोमा व्यापारीले बिक्री गर्ने गरेकामा यहाँकै ताजा र हरियो स्कुस उपभोग गर्न पाएपछि उपभोक्ता खुसी भएका छन् ।

गाईघाट बोक्सेकी उपभोक्ता सम्झना बस्नेतले भनिन्, ‘व्यापारीले जिल्ला बाहिरबाट सडेगलेका तथा विषादीयुक्त सब्जी सस्तोमा खरिद गरेर महँगोमा बिक्री गरिरहेका बेला जिल्लाकै पहाडी क्षेत्रको अग्र्यानिक स्कुस किनेर खान पाइएका छौँ । यसले स्वास्थ्यमा प्रतिकूल असर गर्दैन भने खर्च पनि कम भएको छ ।’

उपभोक्ताले पनि जिल्लाका साउने, खाँबु र रौता पहाडी क्षेत्रमा उत्पादन भएको स्कुस बढी मन पराउने भएकाले बजारमा यसको माग बढी हुने किसान बताउँछन् ।

प्रत्येक वर्ष यस क्षेत्रमा उत्पादित स्कुस साउन तेस्रो सातादेखि बिक्री सुरु भएर भदौमा सबैभन्दा बढी खपत हुने व्यापारी प्रेम मगरले जानकारी दिए । गत वर्ष भदौभरि आफूले लाखौँको स्कुस बिक्री गरेको बताउँदै उनले यसपटक पनि सोही तुलनामा बिक्री हुने विश्वास व्यक्त गरे ।

त्रियुगा नगरपालिकाको पहाडी क्षेत्रको साउने, खाँबु, डहर र रौता क्षेत्रको रौता, मलबासे, आपटार क्षेत्रमा उत्पादन गरिएका स्कुस बर्सेनि साउन, भदौ र असोजमा सदरमुकाम गाईघाट बजारसहित जिल्ला बाहिर सप्तरीको राजबिराज, सिरहाको लाहानसम्म बिक्री हुने गरेको स्कुस उत्पादक किसानहरू बताउँछन् । एक सिजनमा कसैकसैले ५० हजारदेखि रु तीन लाखसम्मको स्कुस बिक्री गर्ने गरेको किसानहरू बताउँछन् ।

Leave Your Comment

Related News