CLI

जर्मनीको अर्थतन्त्रमा पुनः झट्का, आर्थिक वृद्धिदर झनै घटेको पुष्टि

जर्मनीको अर्थतन्त्र सन् २०२५ को दोस्रो त्रैमासिकमा अनुमानभन्दा पनि धेरै घटेको सरकारी तथ्याङ्कमा देखिएको छ, जसले युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रको लागि थप चिन्ताजनक संकेत दिएको छ ।

जर्मन संघीय तथ्याङ्क संस्था डेस्टाटिसका अनुसार, अप्रिलदेखि जुन महिनाको अवधिमा देशको कूल गार्हस्थ उत्पादन (जीडीपी) ०.३ प्रतिशतले घटेको छ । यसअघि जुलाईमा ०.१ प्रतिशत गिरावट भएको प्रारम्भिक अनुमान गरिएको थियो । उपभोग (खपत), निर्माण र उत्पादन क्षेत्रको प्रदर्शन पनि अनुमानभन्दा कमजोर रह्यो भने वस्तु निर्यातमा ०.६ प्रतिशत र मेसिन तथा उपकरणमा लगानी १.९ प्रतिशतले गिरावट आएको देखियो ।

अगस्टको सुरुमा सार्वजनिक गरिएको अर्को तथ्याङ्कमा जून महिनामा औद्योगिक उत्पादन महामारीपछिको सबैभन्दा तल्लो स्तरमा पुगेको थियो । आईएनजी बैंकका विश्लेषक कास्र्टेन ब्रजेस्कीका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको भन्सार कर र अमेरिकी डलरको तुलनामा युरोको दर वृद्धि जस्ता कारणले निर्यातमा निर्भर जर्मनीको अर्थतन्त्रलाई चाँडै सुधार हुनु कठिन देखिन्छ ।

उनले भने,“जर्मनीको अर्थतन्त्र लामो समयदेखि स्थिरताको बानीमा परिसकेको छ र सन् २०२६ अघि उल्लेखनीय सुधार हुने सम्भावना कमजोर देखिन्छ ।” पछिल्ला वर्षहरूमा जर्मनी उच्च उत्पादन लागत, ऊर्जा मूल्य वृद्धि र चीनसँगको तीव्र प्रतिस्पर्धाका कारण समस्यामा परेको छ । डेस्टाटिसका अनुसार, सन् २०२३ मा जर्मनीको जीडीपी ०.९ प्रतिशतले घटेको थियो भने २०२४ मा ०.५ प्रतिशतको गिरावट आएको थियो ।

-फ्रान्कफर्ट, जर्मनी,  एएफपी

Leave Your Comment

Related News