दशैंका लागि मुस्ताङबाट च्याङग्रा र दाङ, हेटौडाबाट खसीबोका ल्याइने, अनलाइन बुकिङ गर्न सकिने

काठमाडौं । नेपालीहरुको ठूलो चाडपर्वहरुलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । यो पसल घटस्थापनाको एक साता अघि अर्थात, भदौ ३० गतेदेखि छठ पर्वसम्म सञ्चालन हुनेछ । सो पसल ४५ जिल्लाका १११ स्थानहरुबाट छुट मूल्य सहित सञ्चालन हुनेछन् ।

आवश्यकता अनुसार थप जिल्ला र स्थानहरुमापनि पसल सञ्चालन गरिने बताइएको छ । सरकारले यसका लागि २ करोड ५० लाख बजेट छुटाएको छ ।

कम्पनीका सूचना अधिकारी माधव मिश्रले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा पनि उक्त पसल सञ्चालनमा आउने बताए । ‘खाद्य कम्पनी थापाथाली, रामशाहपथ, दक्षिणकाली र ललितपुरको नक्खु लगायतका बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री गरिनेछ’, उनले इक्विटी नेपालसँग भने, ‘यो वर्ष सामग्री खरिदको लागि निःशुल्क अनलाईन होम डेलिभरी, घुम्ती सेवाको माध्यमको व्यवस्था गर्नुको साथै सहुलियत छुट दिई उपभोक्तामा सेवा पुयाईने छ ।’

उनले कम्पनीले यस वर्ष चामल, गहुँ, चिनी, सबै किसिमका दालहरुमा ५ रुपैयाँ छुट दिनेछ र सबै किसिमका खाने तेलहरु, चिउरा, आटा, पिठो, मैदामा ७ रुपैयाँ छुट दिने जानकारी दिए । त्यसैगरी चियापत्ति, जिराधनिया, रैथाने खाद्य वस्तुमा १० रुपैयाँ छुट दिइने छ । त्यस्तै चाडनका लागि आवश्यक मानिने जिउँदो खसीबोका र च्याङग्रामा पनि १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।

कम्पनीले ३०० वटा च्याङग्रा मुस्ताङबाट र १ हजार ५०० वटा खसीबोका दाङ, हेटौंडा, नवलपरासीबाट ल्याउने बताएको छ । सूचना अधिकारी मिश्रले अबबाट खसीबोका र च्याङग्रा पनि अनलाईन बुकिंङ मार्फत अर्डर दिन सकिने बताए । यसको लागि तयारी अन्तिम चरणमा पुगेको उनको भनाई छ । ग्राहकहरुको सहजताका लागि अनलाइन बुकिङ प्रयोगमा ल्याउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार