सुनको मूल्यमा नयाँ कीर्तिमान, यसरी भाउ बढ्नुको कारण के हो ? यस्तो भन्छन् जानकार

काठमाडौं । पछिल्ला दिनहरुमा सुन-चाँदीको मूल्यमा तीव्र वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेर २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यो हालसम्म कै उच्च हो ।  चाँदीको भाउ भने प्रतितोला २ हजार ४८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । विश्व बजारमा सुनको रेट बढेसँगै नेपालमा पनि मूल्य वृद्धि भएको हो ।

विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितताबीच बहुमूल्य धातु सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । विश्व बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ५३४ डलरमा पुगेको छ ।  गत जनावरीदेखि हालसम्म गोल्डको रेट ३४ प्रतिशतले वृद्धि भइसकेको छ ।

सुनलाई लगानीकर्ताले सुरक्षित सम्पतिको रुपमा लिने भएकाले विश्व राजनीतिक तनाव र व्यापारिक अनिश्चितताले यसको माग बढाएको विश्लेषकहरुको भनाइ छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक ट्यारिफ घोषणा गर्दै विश्व व्यापारमा तनाव सिर्जना गरेपछि सुनको मूल्यमा यसरी वृद्धि भएको विज्ञहरु बताउँछन् ।

साथै, ब्याजदर घट्ने अपेक्षा र राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भको स्वतन्त्रतामाथि दिएको दबाब सुनको मूल्य वृद्धिका प्रमुख कारण मानिएका छन् । ट्रम्पले फेड अध्यक्षमाथि दबाब मात्र होइन, गभर्नरलाई हटाउने प्रयास गरेपछि लगानीकर्ताबीच मुद्रास्फीति बढ्ने आशंका अझ प्रबल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

म्याक क्युरीका कमोडिटी रणनीतिकार मार्कस गार्भीका अनुसार, “राष्ट्रपति ट्रम्पद्वारा फेडको स्वतन्त्रतामाथि गरिएको चुनौती र अमेरिकी बजेट घाटाको पृष्ठभूमि नै अहिले सुनको मूल्य बढाउने मुख्य चालक हुन् ।”

यता, विश्व गोल्ड काउन्सिलका कृष्णन गोपालले समेत सुनको मूल्य वृद्धिलाई अनिश्चितताकै परिणाम बताएका छन् । उनका अनुसार, “डलर र अमेरिकी ट्रेजरी जस्ता परम्परागत सुरक्षित सम्पतिमाथि समेत प्रश्न उठ्न थालेपछि सुन स्वाभाविक विकल्प बनेको छ ।”

सुनसँगै चाँदीको मूल्यपनि १४ वर्षपछिको उच्च विन्दुमा पुगेको छ । चाँदी प्रतिऔंस ४०.८ डलरमा कारोबार हुँदैछ । यससँगै, युक्रेन युद्ध चाँडै टुंग्याउने ट्रम्पको वाचा पूरा नहुने आशंकाले पनि सुन र चाँदी दुबैको मूल्यलाई बल दिएको बताइन्छ ।

चार्टः ट्रेडिङ इकोनोमिक्स

गोल्डम्यान स्याक्स का विश्लेषकहरुले त सन् २०२६ को मध्यसम्म स्पट सुनको मूल्य प्रतिऔंस ४ हजार डलर पुग्ने पूर्वानुमानसमेत गरेका छन् । २०२३ को सुरुदेखि हालसम्म सुनको मूल्य करिब दोब्बर भएको छ ।

विश्वका केन्द्रीय बैंकहरुले सुनलाई भण्डार बढाउने क्रममा राखिरहेका छन् भने मुद्रास्फीति विरुद्धको सुरक्षित लगानीका लागि लगानीकर्ताले पनि सुन रोजेका छन् । गत वर्ष सुन अमेरिकी डलरपछि विश्वको दोस्रो ठूलो केन्द्रीय बैंक रिजर्भ सम्पति बनेको थियो । भारत, चीन, टर्की र पोल्यान्डजस्ता देश प्रमुख खरिदकर्ता रहेका थिए ।

यता, बीएनपी पारिबासका विल्सनले भने, “कतिपय केन्द्रीय बैंकहरुले अमेरिकी डलरप्रतिको निर्भरता घटाउने प्रयास गरिरहेका छन्, जसले सुनको मागलाई दीर्घकालीन आधार दिएको छ ।”

-एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार