बीमा प्राधिकरण सञ्चालक समिति अध्यक्षका लागि १४ जनाको आवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जनाको आवेदन परेको छ । प्राधिकरणले अध्यक्ष पदका लागि आह्वान गरेको सात दिनको म्यादभित्र १४ जनाको आवेदन परेको हो ।

अर्थ मन्त्रालयका अनुसार ललितपुरका घनश्याम बुढाथोकी, काठमाडौंका विक्रान्त पाण्डे, भक्तपुरका पारस काफ्ले, काठमाडौंका विष्णुबाबु मिश्र, काठमाडौंका बुद्धकाजी श्रेष्ठ, कास्कीका डा. दामोदर बसौला, काठमाडौंका चिन्तामणी शिवाकोटी, काठमाडौंका डा राजेन्द्र पण्डित, दाङका यज्ञप्रसाद न्यौपाने, काठमाडौंका रमेशकुमार भट्टराईको आवेदन परेको छ ।

त्यस्तै, भक्तपुरका महेश्वर न्यौपाने, लमजुङका प्राडा दीपकबहादुर भण्डारी, झापाका ज्ञानेन्द्र अधिकारी र मोरङका देवकुमार ढकालको आवेदन परेको छ । अध्यक्ष छनौट समितिले नयाँ अध्यक्ष नेपाल सरकारसमक्ष सिफारिस गर्न सात दिनको मिति राखेर भदौ १४ गते नयाँ सूचना सार्वजनिक गरेको थियो ।

यसअघि सरकारले भदौ ९ गते अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो । समितिमा अधिकारीका साथै अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा. खोमराज खरेल रहेका थिए ।

यसअघिका अध्यक्ष शरद् ओझालाई मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेपछि पद रिक्त छ । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले उनी योग्य नरहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएपछि सरकारले ओझालाई बर्खास्त गरेको थियो । प्रतिवेदनअनुसार बीमा प्राधिकरणको अध्यक्षका लागि उनको योग्यता अपर्याप्त रहेको, कानुनअनुसारको योग्यताका लागि सम्बन्धित क्षेत्रमा थप काम गर्नुपर्ने र कार्यक्षमतालगायतका विषयमा प्रश्न उठाउँदै समितिले प्रतिवेदन बुझाएको थियो । ओझालाई सरकारले गत वर्ष १२ फागुनमा बीमा कम्पनीहरूको नियामक निकाय बीमा प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार