काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सकेमात्र पार्टी बलियो हुने बताउनुभएको छ ।
ललितपुर, गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ दिने क्रममा उहाँले सरकारले गरेका कामलाई जनस्तरसम्म पु¥याउनुपर्ने बताउनुभयो ।
महासचिव पोखरेलले आफ्नो ठाउँ वडाबाट कार्यकर्ता र जनतालाई काममा जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले वडातहबाट काम सुरू भयो भने प्रत्यक्ष देखिनेसमेत बताउनुभयो ।
महासचिव पोखरेलले प्रदेशदेखि तल्लो तहमा युवाको प्रतिनिधित्व कम रहेको बताउनुभयो । ४० वर्षका युवा प्रदेश र जिल्ला कमिटीमा जो प्रतिनिधि बनेर आए ती सबै नेता मात्र बने । पार्टीमा ४० वर्षमुनिका युवालाई पार्टी काममा जोड्ने काम कमजोर रहेको छ । हामीले ४० वर्ष मुनिका युवालाई पार्टी काममा लगाउन भनिए पनि सुधार हुन सकेन”, उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले पार्टीले केन्द्रीय कमिटीमा महिलालाई ३३ प्रतिशत सुनिश्चित गरेपछि पार्टी सदस्यमा महिला ३३ प्रतिशत नपुगेको बताउनुभयो । “महिलाको पार्टी सदस्यता २६ प्रतिशत मात्र रहेको छ । पाटी सदस्य विस्तार नगरिकन सक्षम नेतृत्व निर्माण हुन सक्दैन”, उहाँले जवाफ दिने क्रममा भन्नुभयो ।
महासचिव पोखरेलले २०४३ सालमा स्ववियु निर्वाचनमा पार्टीले एउटा मोटरसाइकल उपलब्ध गराउँदा खुसी भएको प्रसङ्ग उल्लेख गर्दै आजको सामाजिक अपेक्षाअनुसार नेताको जीवन सरल हुनुपर्ने बताउनुभयो ।

