आइपीओ बिक्रीका लागि अनुमति पर्खिरहेको वर्णवास म्युजियमको आम्दानी ३ गुणा बढ्यो

काठमाडौं । आइपीओ बिक्रीका लागि अनुमति पर्खिरहेको वर्णवास म्युजियम होटल लिमिटेडले गत वर्ष (सन् २०२५) मा २ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । यो सन् २०२४ को भन्दा ३ गुणा बढी हो । सन् २०२३ मा यस कम्पनीले ९० लाख आम्दानी गरेको थियो ।

कम्पनीले ९६ करोड ८२ लाख कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये लङ ट्रम ९४ करोड ६ लाख कर्जाका लागि ‘केयर एनपी बी माइनस’ र सर्ट ट्रम २ करोड ७५ लाख कर्जाका लागि ‘केयर एनपी ए४’ रेटिङ पाएको छ ।

रेटिङमा कम्पनीको कमजोर वित्तीय जोखिम प्रोफाइल, न्यून आम्दानी, लगातार कम कोठा प्रयोग दर (occupancy) मुख्य कारणका रूपमा उल्लेख गरिएको छ । उच्च सञ्चालन खर्चका कारण गत वर्ष कम्पनीमा घाटा कायम भएको र ब्याज भुक्तानी क्षमता नकारात्मक भएको रेटिङ रिपोर्टमा उल्लेख छ ।

तर, बलुवाटारस्थित होटलले रणनीतिक स्थानगत फाइदा पाएको र गत वर्षमा प्रोमोटरहरूले अतिरिक्त इक्विटी लगानी गरेर कम्पनीलाई सहयोग पुर्‍याएको पनि रेटिङमा प्रष्ट पारिएको छ । नेपालको होटल तथा पर्यटन उद्योगमा तीव्र प्रतिस्पर्धा, चक्रियता, अस्थिर ब्याजदर र काठमाडौंमा मात्र सीमित भएको भौगोलिक जोखिम कम्पनीका लागि चुनौती मानिएको छ ।

वर्णवास म्युजियम होटल लिमिटेडले १०० रुपैयाँ अंकित दरमा ३९ लाख ६० हजार कित्ता सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार