धनगढी । धनगढीका उपमहानगरपालिकाका मेयर गोपाल हमालले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिएका छन्। उनले कार्कीलाई नेपालको पहिलो महिला प्रधानन्यायाधीश र पहिलो महिला प्रधानमन्त्री दुवै बनेर इतिहास रचेकोमा प्रशंसा गरेका हुन्।
सामाजिक सञ्जालमा एक भिडियो सन्देशमार्फत हमालले नयाँ सरकारसमक्ष केही महत्त्वपूर्ण मागहरू राखेका छन्। उनको मुख्य जोड भ्रष्टाचार नियन्त्रणमा रहेको छ । उनले भनेका छन्– ‘भ्रष्टाचार रहेसम्म सुशासन हुँदैन। सुशासन नभएसम्म देशले प्रगति गर्दैन।’
हमालले प्रधानमन्त्री कार्कीसँग एक हप्ताभित्र भ्रष्टाचारीहरूलाई अभियोगसहित उनीहरूको सम्पत्ति राष्ट्रियकरण गरी मुद्दा चलाएर जेल हाल्न माग गरेका छन्। उनले यो जेनजी आन्दोलनको पनि मुख्य मुद्दा रहेको बताएका छन्।
यसैगरी, उनले आन्दोलनमा शहीद भएका र घाइतेहरूको अवस्थाबारे पनि स्पष्ट जानकारी सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन्। हमालले शहीदको सङ्ख्याबारे अन्योल रहेको भन्दै सरकारले सही तथ्याङ्क, उनीहरूको नाम, ठेगाना र घाइतेहरूको उपचारको अवस्था सार्वजनिक गर्नुपर्ने बताएका छन्।
अन्तमा, हमालले प्रधानमन्त्री कार्कीको सफल कार्यकालको कामना गर्दै नेपालको विकास र सुशासनका लागि महत्त्वपूर्ण काम हुने आशा व्यक्त गरेका छन्।
यस्तो छ उनको भनाई
नमस्कार
म धनगढी उपमहानगरपालिकाको नगर प्रमुख गोपाल हमाल।
सर्वप्रथम प्रधानमन्त्रीमा नियुक्त हुनुभएको सम्माननीय सुशीला कार्कीज्यूलाई हार्दिक बधाई दिन चाहन्छु।
र साथै नेपालले पहिलो महिला प्रधानन्यायाधीश पनि सुशीला कार्कीज्यूबाटै प्राप्त गरेको थियो भने पहिलो प्रधानमन्त्री, महिला प्रधानमन्त्री पनि सुशीला कार्कीज्यू भएको छ। त्यसकारण एउटा इतिहास रच्नुभएको छ।
अब इतिहास रच्ने पालो हो । मुख्य कुरा यो देशमा बेरोजगारी सिर्जना हुनु र विधिको शासन नहुनु मुख्य भनेको भ्रष्टाचार हो। जेन्जीको आन्दोलन पनि मुख्य विषय यही नै थियो। भ्रष्टाचार रहेसम्म सुशासन हुँदैन। सुशासन नभएसम्म देशले प्रगति गर्दैन।
तसर्थ, एक हप्ताभित्र कम्तीमा भ्रष्टाचारीहरूलाई अभियोगसहित यिनको सम्पत्ति राष्ट्रियकरण गर्ने, यिनीहरूलाई अभियोग चलाउने, मुद्दा चलाउने, यिनीहरूलाई जेलमा हाल्ने काम गरियोस् भन्ने माग गर्न चाहन्छु ।
साथै शहीदको आँकडा एकदमै गलत आएको छ। कसैले भन्छ १०० जना भयो यिनीहरू बिते, तर ५१ को मात्रै आएको छ अहिले। सरकारले पुष्टि गरोस्। कहाँ–कहाँ, कुन–कुन जिल्ला, कुन–कुन ठाउँको व्यक्ति को-को कहाँ शहादत प्राप्त गरेँ ? त्यसको सार्वजनिक गर्न पनि अनुरोध गर्न चाहन्छु ।
अहिले घाइतेहरू के अवस्थामा छन् ? उनको उपचारको लागि के भइराछ ? कस्तो भइराछ ? कति जना खतरामुक्त छन् ? कति जना चाहिँ वास्तवमा सिरियस छन् ? एउटा अन्योलको वातावरण सिर्जना भएको हुनाले नयाँ अन्तरिम सरकारको प्रमुख, प्रधानमन्त्रीज्यूलाई अनुरोध पनि गर्न चाहन्छु कि यो पनि सार्वजनिक होस् ।
यो कार्यमा सफलता मिलोस् भन्ने शुभकामना पनि दिन चाहन्छु। नमस्कार !

