निजी क्षेत्रको मनोबल गिरेको छैन, पुनर्निर्माण गर्ने र देशमा लगानी जारी राख्ने प्रतिबद्धता

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा भएको हिंसा, लुटपाट र आगजनीले निजी क्षेत्रका लागि ठूलो क्षति पुर्‍याए पनि उनीहरूको मनोबल भने गिरेको छैन ।

प्रदर्शनकारीहरूले व्यवसायीका घर, व्यापारिक प्रतिष्ठान, कारखाना र शोरुमहरूमाथि आक्रमण गरी करोडौंको क्षति पुर्‍याएका छन् । यस विषम परिस्थितिमा पनि नेपालका प्रमुख व्यवसायीहरूले पुनर्निर्माण गर्ने र देशमा लगानी जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले यस घटनाले आफ्नो परिवारलाई असर गरे पनि आफूहरू विचलित नभएको र लोकतन्त्रलाई अझ सुदृढ बनाउँदै रोजगारी सिर्जना गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

त्यस्तै, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पनि यो विपत्तिबाट नयाँ शक्ति र नयाँ प्रणालीको जन्म हुने विश्वास व्यक्त गर्दै आफ्नो कम्पनीलाई पुनर्निर्माण गरेर अझ मजबुत बनाउने प्रण गरेका छन् । यो आन्दोलनले निजी क्षेत्रमाथि अभूतपूर्व आक्रमण गरेको थियो ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको निवासमा आगजनी गरिनुका साथै उनीहरूको कारखाना, कार्यालय र शोरुमहरूमा समेत तोडफोड र लुटपाट गरियो । भाटभटेनीका दर्जनौं स्टोर ध्वस्त हुँदा करिब ५ हजार जनाले रोजगारी गुमाएका छन् । सीजी होल्डिङ्सका प्रमुख कार्यकारी करण चौधरीले आफूहरू फेरि सशक्त रूपमा उठ्ने र लगानी गर्न प्रतिबद्ध रहेको बताएका छन्।

त्यस्तै, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापाको पोखरास्थित घर जलाइँदा एक कर्मचारीको ज्यान गएको छ, जसले उनलाई निकै मर्माहत बनाएको छ । होटल संघ नेपाल (हान) ले मात्रै २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरेको छ । यी सबै घटनाबाट लगानीकर्ता त्रसित बनेका छन् र रोजगारीमा समेत गम्भीर असर परेको छ ।

यस्ता घटनाले भविष्यमा स्वदेशी तथा विदेशी लगानी प्रभावित हुने भन्दै निजी क्षेत्रका छाता संगठनहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले राज्यसँग शान्तिसुरक्षाको प्रत्याभूति, दोषीहरूमाथि कडा कारबाही, र पुनर्निर्माणका लागि आर्थिक प्याकेजको माग गरेका छन् । तथापि, यी सबै चुनौतीका बाबजुद पनि उद्यमी-व्यवसायीहरू भविष्यप्रति आशावादी छन् ।

उनीहरूले अहिलेको तरल अवस्था अन्त्य भएर युवा पुस्ताको चाहना अनुरूप सुशासन र समृद्धि कायम हुने विश्वास व्यक्त गरेका छन् । निजी क्षेत्रले नवनेपाल निर्माणको यात्रामा सरकारसँग सहकार्य गर्न तयार रहेको पनि जनाएका छन् ।

निजी क्षेत्रका छाता संगठनहरू – नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल समुद्रपार निकासी पैठारी संघ र होटल संघ नेपाल (हान) ले घटनाको भर्त्सना गरेका छन्। उनीहरूले भविष्यमा यस्ता घटना नदोहोरिने सुनिश्चितता, दोषीहरूमाथि कडा कारबाही, र पुनर्निर्माणका लागि राज्यबाट आर्थिक प्याकेजको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार