काठमाडौं । सरकारले यस वर्ष पनि देशभर चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सोमबारदेखि सहुलियत पसल सञ्चालनमा आएको छ ।
चाडवार्डका लागि आवश्यक पर्ने सामग्रीमा केही मूल्य छुट दिई उपभोक्तालाई राहत दिने उद्देश्यले खाद्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको जनाएको छ ।
सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सोमबारदेखि सञ्चालनमा ल्याएको छ । सञ्चालनमा आएसँगै सुपथ मूल्य पसलबाट दुई दर्जनभन्दा दैनिक प्रयोग हुने सामग्रीहरु छुट मूल्यमा पाउन सक्ने खाद्यले जनाएको छ । भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका कारणले गर्दा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन केही दिन ढिलाइ हुन पुगेको खाद्यले जनाएको छ । आन्दोलनका कारण मुलुकमा ठूलो धनजनको क्षति गुमाएको दुःखद् अवस्थामा कुनै औपचारिक कार्यक्रम नगरी सहुलियत मूल्य पसल सुरु गर्न लागिएको खाद्यका अधिकारीहरुले बताएका छन् ।
आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडपर्व अवधिभर उक्त पसल सञ्चालनमा ल्याइने सूचना अधिकारी माधव मिश्रले बताए । विभिन्न प्रकारका चामल, दाल, गेडागुडी, पिठो, चिउरा, नुन, चिनी, चियापत्ती, घ्यु र तेलजन्य सामग्रीहरु सुपथ मूल्य पसलबाट बिक्री हुने उनको भनाइ छ ।
मिश्रका अनुसार खाद्यान्न, दालजन्य र तेलजन्य सामग्रीका साथै ग्यास तथा ग्यास सिलिन्डर समेत बिक्रीमा राखिनेछन् । दशैँ नजिकिएसँगै सुपथ मूल्य पसल सञ्चालनको तयारी भएको हो । दशैँपछि आउने तिहार र छठसम्म पसल सञ्चालनमा निरन्तरता आउने छ भने छुट मूल्यमा सामग्री पाउने हुँदा उपभोक्तालाई पनि राहत हुनेछ । बजारमा मूल्यवृद्धि हुने भएकाले मूल्य नियन्त्रण गर्दै सन्तुलन कायम गर्नका लागि पनि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ । सहुलियत पसलका लागि सरकारले तीन करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ । मन्त्रालयका अनुसार सरकारले सुपथ पसलका लागि दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरेको हो । सरकारी स्वामित्वका संस्थानहरुले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलको कारण बजारमा मूल्यवृद्धि नियन्त्रण हुन सघाउ पुग्ने विश्वास लिएको छ ।
सुपथ मूल्य पसल घटस्थापनाको एक साताअघि अर्थात् भदौ ३० गतेदेखि छठ पर्वसम्म सञ्चालन हुनेछ । सो पसल ४५ वटा जिल्लाका एक सय ११ वटा स्थानहरुबाट छुट मूल्यसहित सञ्चालन हुनेछ । आवश्यकताअनुसार थप जिल्ला र स्थानहरुमा पनि पसल सञ्चालन गर्दै लगिने जनाइएको छ । खाद्यले काठमाडौं उपत्यकाको हकमा भने केन्द्रीय कार्यालय रामशाहपथ, माइतीघर, कालीमाटी, साँखु, दक्षिणकाली र ललितपुरको जावलाखेल, नक्खुलगायतका स्थानबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री गर्ने जनाएको छ । काठमाडौं उपत्यका, पोखरा, विराटनगरलगायतका सहर केन्द्रित मात्र नभई धेरै जिल्लाहरुमा सुपथ मूल्य पसल राखी उपभोक्तालाई राहत दिने काम गरेको खाद्यले जनाएको छ ।
यस्ता पसलहरु आवश्यकतानुसार थप जिल्ला र स्थानहरुमा पनि सञ्चालन गर्ने तयारी रहेको लिमिटेडले जनाएको छ । निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलरहरुको माध्यमबाट तोकिएबमोजिमको छुट पाउन सकिनेछ । चाडपर्वको समयमा निजी व्यापारीहरुले आफूखुसी मूल्य बढाउने हुँदा बजार व्यवस्थित गर्न तथा नागरिकहरु महँगीको चपेटामा नपरून् भनेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको खाद्यका अधिकारीहरु बताउँछन् । काठमाडौं उपत्यकामा भने ‘होम डेलिभरी’को व्यवस्था गरिएको छ । खाद्यका अनुसार काठमाडौं चक्रपथभित्र ‘होम डेलिभरी’को व्यवस्था गरिएको छ । ‘होम डेलिभरी’को सुविधा लिनका लागि निश्चित रकमको सामान खरिद गर्नुपर्नेछ ।
खाद्यले यस वर्ष चामल, गहुँ, चिनी, सबै किसिमका दालहरुमा पाँच रुपैयाँ छुटको व्यवस्था गरेको छ । सबै किसिमका खाने तेलहरु, चिउरा, आटा, पिठो, मैदामा भने सात रुपैयाँ छुटको व्यवस्था गरेको छ । त्यस्तै, चियापत्ति, जिराधनियाँ, रैथाने खाद्य वस्तुमा १० रुपैयाँ छुटको व्यवस्था गरेको छ । खाद्यले खाद्य सामग्रीका साथै दशैँ र तिहारका लागि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने बताए पनि हालसम्म भने निर्णय गरेको छैन । खसीबोका र च्याङग्रा बिक्री गर्ने बताए पनि आन्दोलन पछि भने उक्त कामको लागि निर्णय पुग्न सेकेको छैन ।
कम्पनीले तीन सय वटा च्याङ्ग्रा मुस्ताङबाट र एक हजार पाँच सय वटा खसीबोका दाङ, हेटौंडा, नवलपरासीलगायतका क्षेत्रबाबाट ल्याउने तयारी अघि बढाएको छ । मासुजन्य पदार्थमा भने १० रुपैयाँ छुटको व्यवस्था गरेको छ । सूचना अधिकारी मिश्रले खसीबोका र च्याङ्ग्रा पनि अनलाइन बुकिङमार्फत अर्डर दिन सकिने बताए । ग्राहकहरुको सहजताका लागि अनलाइन बुकिङ प्रयोगमा ल्याउन लागिएको बताइएको छ ।
जेनजीको प्रदर्शनका नाममा ११ करोडको खाद्यान्न लुटपाट
जेनजीको प्रदर्शनका नाममा लुटपाट हुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको करिब १३ करोड रुपैयाँबराबर क्षति भएको कम्पनीले जनाएको छ । कम्पनीको लहानस्थित कार्यालयबाट चामल, धान, चिनी र चामलका लागि राखेका बोरा गरी १० करोड ९१ लाख २२ हजार मूल्यको लुटपाट भएको कम्पनीकाले जनाएको छ । यसैरी लहानको कार्यालय र त्यहाँ रहेको एउटा गाडी र मोटरसाइकल समेत जलेर नष्ट भएको छ । सबै गरी करिब १३ करोडको क्षति भएको छ ।

