नेपालगन्ज। बाँकेको कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालयमा भएको आगजनीपछि लुटपाट गरिएको नगद रकम, सुन र चाँदी फिर्ता गरिएको छ । राजस्व अनुसन्धान कार्यालय कोहलपुरबाट लुटपाट गरिएको रु २ लाख ५२ हजार नगद, ४२१ ग्राम सुन तथा ९ किलो चाँदी कोहलपुरका जनप्रतिनिधि, समाजसेवीको पहल तथा इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियतामा फिर्ता गरिएको इप्रका, कोहलपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिए।
राजस्व अनुसन्धान कार्यालयबाट लुटिएको रकम र सुनचाँदीमध्ये सोमबार रु १ लाख १७ हजार र ८४ हजार भारतीय रुपैयाँ इलाका प्रहरी कार्यालय, कोहलपुरमा फिर्ता गरेको उनले बताए । उक्त रकम, सुन र चाँदी पीडित परिवारलाई फिर्ता गरिएको छ । ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा जिल्लाका अधिकांश सरकारी कार्यालयमा आगजनी र लुटपाट भएको थियो । प्रहरीले आइतबार पनि कोहलपुर नगरपालिका–२ बाट रु ७ लाख ६६ हजारसहित कोहलपुर–५ का १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका–१८ का २६ वर्षीय ऋषिकेश मिश्रलाई पक्राउ गरेको थियो ।
रासस

