वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको दुई महिनामा १ खर्ब ४६ अर्ब ६४ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन् । गत आर्थिक वर्षको २ महिनाको तुलनामा चालु आर्थिक वर्षमा यो नाका हुँदै २० प्रतिशत बढी समान भित्रिएका हुन् । जबकी गत आवको २ महिनाको अवधिमा भने १ खर्ब २२ अर्ब ३२ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले गत आवको दुई महिनाको तुलनामा चालु आवमा आयात र निर्यात दूवैमा वुद्धि भएको जानकारी दिए । ‘‘गत आवको २ महिनाको तुलनामा चालु आवमा २४ अर्ब ३२ करोड बढी सामान भित्रिएका छन्,’’ उलले भने,‘‘आयात मात्रै होइन् राजस्व सङ्कलनमा पनि वृद्धि भएको छ ।’’
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको २ महिनाको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा यो नाका हुँदै हुने निर्यातमा पनि उल्लेखनीय सुधार भएको छ । गत आवको २ महिनामा ६ अर्ब ५ करोड मूल्यको सामान विदेशीमूलक निर्यात भएको थियो । तर, चालु आवको २ महिनामा यो नाका हुँदै रु १७ अर्ब ३ करोड मूल्य बराबरको सामान निर्यात भएको छ । गत आवको २ महिनाको तुलनामा चालु आवमा १० अर्ब ९८ करोड बढीको सामान निर्यात भएको देखिन्छ ।

