काठमाडौं ।निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छिन् । अभिभावकको बैठकमा कांग्रेस नेतृसमेत रहेकी राणाले राजीनामा दिएकी हुन् ।
जेन–जी आन्दोलनको क्रममा यो स्कुल जलाईएको थियो । आरजुको लगानी भनेर प्रचार गरिएपछि स्कुल आन्दोलनकारीहरुको निशानामा परेको थियो ।
तर, स्कुलले यसमा आरजुको कुनै लगानी नभएको भनेर विज्ञप्तीमार्फत स्पष्ट पारिसकेको छ । हालै बसेको अभिभावकहरुको बैठकमार्फत आरजुले स्कूल व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी हुन् । आरजु स्वयम आन्दोलनकारीको निशानामा परिन् । उनीमाथि भौतिक रुपमा नै हमला भएको थियो ।
गत बुधबार विज्ञप्ति निकालेर युलेन्सले फाउन्डेशनको बोर्ड अफ ट्रस्टीले शिक्षा ऐन मुताबिक डा. देउवालाई विद्यालय व्यवस्थापन समितिमा नियुक्ति गरेको थियो । ‘साबिकको जिल्ला शिक्षा कार्यालयले उहाँलाई यस युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गर्यो । त्यो क्रम आजसम्म निरन्तर छ’, युलेन्सले भनेको छ, ‘यो ठ्याक्कै त्यस्तै अध्यक्षता हो, जसरी सामुदायिक विद्यालयको व्यवस्थापनमा स्थानीय व्यक्तिहरू हुन्छन् । सामुदायिक विद्यालयहरू व्यवस्थापन समितिका पनि हुन त हुन्छन्, तर अपनत्वको हदसम्म मात्रै, स्वामित्वको हदमा होइन । स्वामित्व त सरकारको अधीनस्थ हुन्छ । युलेन्सको सवालमा पनि डा. आरजु राणा देउवाको संलग्नता त्यही सीमासम्म हो । विद्यालय युलेन्स एजुकेशन फाउन्डेशनले सञ्चालन गर्छ । डा. देउवा फाउन्डेशनमा ट्रस्टी हुनुहुन्न । व्यवस्थापन समितिमा मात्र हुनुहुन्छ, जो सामुदायिक विद्यालयको व्यवस्थापन समिति सरहको अधिकारमा क्रियाशील रहन्छ । युलेन्ससँगको उहाँको सम्बद्धताको सीमा यति नै हो ।’
पछिल्लो समयमा राजनीतिमा सक्रिय भएपछि आरजु राणाले विद्यालयबाट अलग हुने प्रस्ताव पनि गरेकी थिइन् । तर, डा. आरजु राणा देउवाको नाफा कमाउने व्यवसायका रूपमा दूष्प्रचार गरिएको निष्कर्ष युलेन्सको छ ।
‘अफवाह फैलाइयो । समाजमा विष फैलाउन कति सजिलो ! डा. देउवाले यो दुष्प्रचारको पटकपटक खण्डन पनि गर्नुभयो, तर सञ्चारजगत्, नागरिक समाज, तालुकदार निकाय, समुदाय सबैले यो अफवाहको तेज यात्रालाई देखेर पनि नदेखेझैं गरे, जसको सिकार आज युलेन्स भएको छ । जस–जसले युलेन्सविरुद्ध भ्रम, अफवाह र दुष्प्रचार फैलाए, ती सबैलाई हाम्रो चुनौती छ’, युलेन्सले भनेको विज्ञप्तिमार्फत भनेको छ ।
लामो समयको अस्पतालको उपचारपछि आरजु र उनका पति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डिस्चार्ज भई ललितपुरमा भाडाको घरमा बसिरहेका छन् ।

