वायुसेवा निगमको उद्धार उडान, १५७ जना लाभान्वित

काठमाडौं । बाढी र पहिरोले सडक अवरुद्ध हुँदा भैरहवामा रोकिएका डेढ सय बढीलाई नेपाल वायुसेवा निगमको जहाजले काठमाडौं ल्याएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्धार उडान गरी निगमको ए३२० जहाजले उनीहरुलाई काठमाडौं ल्याएको हो ।

सोमबार दिउँसो १ बजे काठमाडौंबाट उड्ने तालिका भए पनि दुबईबाट जहाज आउन ढिला भएका कारण केही ढिलाइ गरी उद्धार उडान गरिएको नेपाल वायुसेवा निगमका प्रवक्ता सुवास डाँगीले जानकारी दिए ।

प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि निगमले भैरहवामा ठूलो जहाज पठाएर अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुहरूलाई विशेष प्राथमिकतामा राखेर काठमाडौं ल्याएको हो ।

प्रवक्ता डाँगीका अनुसार काठमाडौंबाट निगमको जहाजमा ७८ यात्रु भैरहवा गएका थिए । भैरहवा विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भैरहवाबाट १५७ यात्रु काठमाडौं गएको जानकारी दिए ।

टिकट काटेर उड्न नपाएका र टिकट नपाएकाहरु अझै रहेको तिवारीको भनाइ छ । आइतबार नै उडान गर्ने तयारी भए पनि निगमले सोमबारका लागि तालिका सार्वजनिक गरेको थियो । आइतबार नै निगमले काठमाडौंबाट जाँदा निगमले पाँच हजार रूपैयाँ र भैरहवाबाट उड्दा सात हजार रूपैयाँ भाडा तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार