काठमाडौं । माउण्टेन ईनर्जी नेपाल लिमिटेडले यस वर्ष कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कात्तिक २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । आगामी वार्षिक साधारण सभाको मिति तय गर्न बाँकी रहेको कम्पनीले बुक क्लोज मिति भने मंसिर १७ गतेका लागि तय गरेको छ । बुक क्लोजको आधारमा मंसिर १६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले गत वर्षभन्दा यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत गरी कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

