काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारीहरु काममा फर्किने भएका छन् । अर्थ मन्त्रालय र सेबोनका अधिकारीबीच सहमति जुटे सँगै उनीहरु नियमित काममा फर्किने भएका हुन् ।
डेढ महिनादेखि निरन्तर काम नै ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारी अर्थ मन्त्रालयको दोस्रो निर्देशनसँगै काममा फर्किएका हुन्।
अर्थ मन्त्रालयले धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष कार्यविधि २०७५ खारेज गर्न निर्देशन दिएपछि कर्मचारीहरु ४५ दिनयता आन्दोलनमा थिए।
खाइपाई आएको सुविधा कटौती हुने भएपछि काम नै ठप्प पारेर आन्दोलनमा उत्रिएपछि अर्थ मन्त्रालयले पत्र कार्यान्वयन गराउन दबाब दिँदै आएको थियो। आइतबार भने बोर्डका कर्मचारी र अर्थ मन्त्रालका सहसचिवसँग छलफल भएको थियो।
बिहान ९ बजे अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख महेश आचार्य र अर्थकै प्रतिनिधिको रुपमा बोर्ड सदस्य रहेका सहसचिव उत्तर कुमार खत्रीले बोर्डका नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियन , नेपाल धितोपत्र स्वतन्त्र संगठनबाट ११ जना कर्मचारीलाई छलफलमा डाकेका थिए।
करिब एक घण्टासम्म चलेको छलफलपछि कर्मचारीहरुलाई काममा फर्काउन सचिवद्वय सफल भएका हुन्।
नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले सहसचिव द्वयले अर्थ मन्त्रालयले कर्मचारीहरुको माग पूरा गर्न सकारात्मक भएको बताएपछि काममा फर्किन कर्मचारी तयार भएको बताए।
मन्त्रालयका अधिकारीहरुले हाम्रो माग पुरा गर्ने तत्परता देखाए सँगै आन्दोलनको स्वरुप परिवर्तन गरी र काममा फर्किएको उनले इक्विटी नेपालसँग बताए ।
‘मन्त्रालयको तर्फबाट लिखित प्रतिवद्धता नआएसम्म कार्तिक मसान्तसम्म धर्नाामा बस्ने छौं,’ अध्यक्ष ढुंगानले इक्विटी नेपालसँग भने,‘ लिखित प्रतिवद्धता आए पश्चयात भने आन्दोलन पूर्ण रुपमा बन्द हुने छ र नियमित काममा लाग्ने छौं ।’

