काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा फिर्ता ल्याउने प्रक्रियामा हालसम्म भएको प्रगतिबारे जानकारी मागेकी छन्। साथै, उनले यसमा दोषी भएकाहरूलाई तत्काल कठघरामा उभ्याउन निर्देशन दिएकी छन्।
मंगलबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेल लगायतको उपस्थितिमा त्रिविका उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद रिजाल लगायतसँग छलफल भएको थियो। छलफलमा मुख्यसचिव एकनारायण अर्याल र जग्गा खोजबिन समितिका पदाधिकारीहरूको पनि उपस्थिति थियो।
प्रधानमन्त्री कार्कीले जग्गा अपचलनसम्बन्धी प्रतिवेदन सार्वजनिक भएपछि कति जग्गा फिर्ता आयो, फिर्ता हुने प्रक्रिया कसरी अघि बढ्यो र दोषीमाथि कारबाहीको प्रक्रिया केके भयो भनेर जिज्ञासा राखेकी थिइन्।त्रिविका पदाधिकारीहरूले विश्वविद्यालयको जग्गा ओगटेर बसेकाहरूलाई हटाउन र अपचलन भएको जग्गाको लगत कायम गर्न सरकारको सहयोगको अपेक्षा रहेको बताए।
जवाफमा प्रधानमन्त्री कार्कीले असम्बन्धित सङ्घसंस्था र व्यक्तिहरूले त्रिविको जग्गा ओगट्ने, बल भएकै आधारमा मिचेर खाने र बेचबिखन गर्ने प्रवृत्ति तत्काल रोक्न निर्देशन दिइन्। उनले यसमा दोषी भएकाहरूलाई तत्काल कठघरामा उभ्याउनुपर्नेमा जोड दिइन्।


