काठमाडौं । व्यक्तिगत आयकरतर्फ यसपटक पनि राजबहादुर शाह उत्कृष्ट करदाता भएका छन्। व्यक्तिगत आयकर सबैभन्दा धेरै तिरेका शाहलाई विभागले उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो।
२०५४ मंसिर १ गते मूल्यअभिवृद्धि कर लागू भएको दिनको सम्झनामा हरेक वर्ष सरकारले मंसिर १ गतेलाई राष्ट्रिय कर दिवस मनाउँदै आएको छ।
यस पटक पनि आन्तरिक राजस्व विभागले विभिन्न कार्यक्रम आयोजना गरेर १४औँ राष्ट्रिय कर दिवस मनाएको हो। यस दिन विभागले सबैभन्दा धेरै कर तिर्ने करदातालाई विभिन्न विधामा सम्मान गर्दै आएको छ। तर करदाताले तिरेको कर भने खुलाउने गरिएको छैन।
संस्थागत करदातामध्ये भने नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) सबैभन्दा बढी आयकर बुझाउने निकायका रूपमा पहिचान भएको छ। त्यस्तै, एकलौटी फर्मको श्रेणीमा थर्ड आई इन्टरनेशनल शीर्ष करदाताका रूपमा सूचीकृत भएको छ।
बैंक, वित्तीय संस्था तथा बिमा क्षेत्रतर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा धेरै कर बुझाएको छ भने स्वास्थ्य तथा शैक्षिक क्षेत्रतर्फ नोबेल मेडिकल कलेज टिचिङ अस्पताल शीर्ष करदातामा परेको छ। पर्यटन क्षेत्रमा सोल्टी होटल र वस्तु व्यापारमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर अग्रस्थानमा छन्।
वस्तु उत्पादन गर्ने उद्योगमध्ये डाबर नेपाल प्रालि, सूचना प्रविधि सेवा निर्यात गर्नेमा ओरिक्स नेपाल प्रालि, र कृषि तथा पशुपक्षीजन्य उद्योगतर्फ पोषक ब्रिडर फार्म प्रालि सबैभन्दा बढी आयकर तिरेका करदाताका रूपमा देखिएका छन्। यूनिलिभर नेपाल लिमिटेड पनि सो अवधिमा उल्लेखनीय कर तिर्ने प्रमुख करदातामध्ये परेको छ।
वार्षिक ५० देखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने समूहमा सीडीएस एण्ड क्लियरिङले सबैभन्दा धेरै आयकर दाखिला गरेको छ। साथै ऊर्जा क्षेत्रमा भोटेकोशी पावर कम्पनी र रेमिटेन्स तथा मनी ट्रान्सफर कारोबारमा आइएमई लिमिटेड उच्च करदाताका रूपमा सूचीकृत भएका छन्।
२०७६ साउनदेखि २०८२ असार मसान्तसम्म नियमित रूपमा भ्याट विवरण दाखिला गर्ने करदातामध्ये नेपाल टेलिकम सबैभन्दा अगाडि रहेको छ। यस्तै, ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदाताको सूचीमा मौरिससस्थित प्रालि, भीएफ सर्भिसेज शीर्ष स्थानमा आएको छ।


