CLI

ड्राइभिङ लाइसेन्स बनेको जानकारी फेसबुक पेजबाट पाइने

काठमाडौं । यातायात व्यवस्था विभागले अत्यावश्यक सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइेन्स) छपाई सम्बन्धी जानकारी अब फेसबुक पेजबाटै दिने भएको छ ।

विभागले बिहीबार एक सूचना जारी गर्दै पहिले अत्यावश्यक सवारी लाईसेन्स छपाइका लागि अनलाइन फारम भरेर एप्रुभ भएका आवेदकलाई ७२ घण्टाभित्र लाइसेन्स लिन आउनु भनी पठाइने स्वचालित ‘नोटिफिकेसन’ प्रणाली हाल अवरुद्ध भएको जनाएको छ।

सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छाप्न थालेपछि विभागले आफ्नो फेसबुक पेज (हेल्लो यातायात व्यवस्था विभाग)बाटै जानकारी दिनेछ।

विभागले यसअघि लाइसेन्स छपाइको जानकारी अनलाइन सिस्टम (http://applynew.dotm.gov.np/login) मार्फत अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाइका लागि अनलाइन आवेदन दिनेलाई फारम एप्रुभ भएको ७२ घण्टा भित्र लाइसेन्स लिन आउनु भन्दै नोटिफिकेसन दिने गरेको थियो ।

तर, गत भदौ २४ जेनजी आन्दोलनको क्रममा विभागमा आगजनी हुँदा अनलाइन सिस्टम समेत जलेर ध्वस्त भएको थियो । अहिले उक्त प्रणाली आंशिक रुपमा संचालनमा ल्याइएकाले फेसबुक फेजबाट जानकारी दिने व्यवस्था गरिएको विभागले जनाएको छ ।

विभागले हाल सुरक्षण मुद्रण केन्द्रबाट क्यूआर कोड सहितको अत्यावश्यक लाइसेन्स छपाई सुरू गरेको छ । विभागले अब केन्द्रबाट छापिएर आएका लाइसेन्सहरूको विवरण आफ्नो फेसबुक पेजबाट प्रकाशित गर्नेछ । आफ्नो नाम हेरी आवेदकहरू जानुपर्नेछ ।

विभागले आफ्नो फेसबुक पेजमा नाम प्रकाशित भएका आवेदकहरूलाई सक्कल राजस्व तिरेको रसिद लिएर अनुमति पत्र लिनका लागि विभागमा उपस्थित हुन अनुरोध गरेको छ।

त्यसैगरी लाइसेन्स नवीकरण गर्ने वा नयाँ वर्ग थप गर्ने आवेदकको हकमा पुरानो सवारी चालक अनुमति पत्र पनि अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।

Leave Your Comment

Related News