नेपालको पहिलो वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स सम्पन्न

काठमाडौं । नेपालले विश्व वातावरण दिवसको अवसर पारेर होटल सोल्टीमा पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स (डब्लुएमसिसि) सम्पन्न गरेको छ । नेपाल उद्योग परिसंघ, द कोका–कोला फाउन्डेसन, राष्ट्रिय मानव अधिकार आयोग, खालि सिसी, वुमन फर ह्युमन राइट्स र कन्फेडेरेसन अफ नेपालिज इन्डस्ट्रिज योङ अन्ट्रप्रन्योर्स फोरमको संयुक्त आयोजनामा उक्त सम्मेलन गरिएको थियो ।

डब्लुएमसिसिले फोहोर व्यवस्थापन, जलवायु परिवर्तन र वातावरणीय स्थायित्व सम्बन्धी महत्वपूर्ण मुद्दाहरूको समाधानको लागि सरकारी कर्मचारीहरू, उद्योग व्यवसायीहरु, वातावरणविद् र नागरिक अगुवाहरूलाई एकसाथ ल्याएको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले वृक्षारोपण गरी गरेका थिए । उद्घाटन समारोहमा प्रमुख अतिथिको मन्तव्य, मटेरियल रिकभरी फेसिलिटीको अनावरण र ‘एबिसी फर क्लाइमेट चेन्ज’ पुस्तकको विमोचन गरिएको थियो । सम्मेलनको समापनमा भने वातावरण तथा वन मन्त्री माननीय नवल किशोर साह सुडीले मन्त्रालयले जलवायु चुनौतीका लागि चालेका आवश्यक पहलका बारेमा जानकारी दिएका थिए।

कोका–कोला फाउन्डेसनका प्रेसिडेन्ट कार्लोस पागोआगाले यस पहलबारे भने, “वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स नेपालको लागि एक कोशेढुङ्गा हो । यस सम्मेलनले हामीले सामना गर्नुपरेको वातावरणीय चुनौतीहरूको दिगो समाधानहरू खोज्ने द कोका–कोला फाउन्डेसनको साझा प्रतिबद्धतालाई उजागर गरेको छ ।”
सम्मेलनमा भएको मेयर फोरममा फोहोरको प्रभावकारी व्यवस्थापन रणनीतिका बारेमा स्थानीय सरकारी अधिकारी र उद्योगीहरु बीच संवाद गरिएको थियो । ललितपुर, धनगढी, धनकुटा, बूढानीलकण्ठका मेयर र चन्द्रागिरिका उपमेयरहरुको सहभागिता रहेको उक्त छलफलको उद्धघोसक टफ टकका आयोजक दिलभूषण पाठकले गरेका थिए ।

यस सम्मेलनले सर्कुलर अर्थव्यवस्थालाई प्रवर्धन गर्न फोहोरलाई उपयोगी स्रोतहरूमा परिणत गर्ने उपायहरुको बारेमा छलफल गरिएको थियो । उक्त छलफलमा कार्बन उत्सर्जन, प्लास्टिक प्रदूषण, काठमाडौंको वायु प्रदूषण, सगरमाथा लगायत हिमालहरुमा देखा परेको जलवायु परिवर्तनको असर जस्ता विषयमा छलफल भएको थियो । साथै जिआइजेटले सम्मेलनमा प्रस्तुति दिँदै फोहोर व्यवस्थापनका नौला विचारहरू र पेरिस सम्झौतामा नेपालको प्रतिबद्धतालाई उजागर गरेको थियो ।

वुमन फर ह्युमन राइट्सकि प्रेसिडेन्ट कविता पाण्डेले भने, “यो सम्मेलनले जलवायुका असर कम गर्ने कार्यमा भाग लिन चाहने समुदायहरूलाई थप उर्जा प्रदान गरेको छ । साथैमा यस सम्मेलनले वातावरण संरक्षणमा महिलाहरूको सहभागितालाई पनि सशक्त बनाएको छ ।”

प्रतिनिधि सभा सदस्य सोबिता गौतम, तोसिमा कार्की र उदय राणाको मन्तव्यले वातावरणीय चुनौतिहरूको सामना गर्न साझा प्रयासको महत्वपूर्ण आवश्यकतालाई जोड दिएको थियो । उनीहरूको मन्तव्यले दिगो समाधानहरू बढाउन संयुक्त शक्तिको आवश्यकतालाई हाइलाइट गरेको थियो ।

नेपालमा फोहोर व्यवस्थापन र जलवायु सम्बन्धी कार्यलाई अगाडि बढाउने व्यापक चासो र प्रतिबद्धतालाई उजागर गर्न ३३ जिल्ला र ५ देशका गरी ६०० संस्थाका करिब १,००० प्रतिनिधिहरू उक्त सम्मेलनमा सहभागी थिए ।

डब्लुएमसिसिले सरकारी कर्मचारी, सांसद, कूटनीतिज्ञ र उद्योगहरुलाई अग्रणीलाई एकताबद्ध गर्न राष्ट्रिय मञ्च प्रदान गरिएको थियो। यसले नेपालको फोहोर व्यवस्थापन र जलवायुको एजेन्डालाई अगाडि बढाउन सहयोग गर्नुका साथै नीतिगत संवादलाई पनि बढावा दिन सफल भएको थियो ।

उक्त सम्मेलन विभिन्न सरोकारवालाबाट ठोस प्रतिबद्धताहरु सहित समापन भएको थियो । साथमा भविष्यका लागि एक स्पष्ट रोडम्याप सेट भएको आयोजकहरुले बताए । सम्मेलनमा प्रस्तुत भएका सहयोग र नवीन विचारहरूले फोहोर व्यवस्थापन र वातावरणीय नीतिहरूमा उल्लेखनीय सुधारको लागि आधार पनि तयार पारेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार