पौवादुङमाको चाँपे गाउँमा एक घर एक धारा जडान

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको चाँपे गाउँमा ‘एक घर एक धारा’ जडान भएपछि स्थानीय सहज भएका छन् । गाउँपालिका र वडाको पहलमा पिउने पानीको समस्या झेल्दै आएका ३० घर परिवारमा घरघरमा धारा जडान गरिएको हो ।

यहाँको पिउने पानीको समस्या रहेको चाँपे गाउँमा ‘एक घर, एक धारा’ जडान गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । पानीको चरम समस्या रहेका स्थानीयलाई लक्षित गरेर पानी वितरण गरिएको उनले बताए । “स्थानीयको पानीको समस्या समाधानको लागि चाँपे गाउँमा पानी वितरण गर्न सफल भएका छौँ”, वडाध्यक्ष तामाङले भने, “यहाँका सबै घरमा शुद्ध पिउने पुगेको अवस्था छ । अब भने यहाँका स्थानीयको वर्षौँदेखिको पानीको समस्या समाधान भएको छ ।”

यहाँ गाउँपालिकाबाट रु चार लाख ५० बजेट विनियोजन गरेर स्थानीयलाई पानी वितरण गरिएको पौवादुङमा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । गाउँपालिकामा ठुला–साना विभिन्न खानेपानी योजना सञ्चालन गरेर ‘एक घर एक धारा’ पु¥याउने लक्ष्यका साथ काम गरिरहेको उपाध्यक्ष राईले बताइन् । “यहाँका ३० परिवारको घरमा धारा जडान गर्न सफल भएका छौँ”, उनले भनिन्, “हाम्रो गाउँपालिकाको अन्य वडामा पानीको निकै ठुलो समस्या छ । ठुला योजना सञ्चालनसँगै यहाँका मुहानको संरक्षण गरेर स्थानीयको घरघरमा धारा पु¥याउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।

‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर प्रत्येक घरमा शुद्ध पिउने पानी पु¥याइएपछि स्थानीय खुसी भएका छन् । घरमा धारा जडान भएपछि वर्षौँदेखिको पानीको समस्या अन्त्य भएको स्थानीय तारा तामाङले बताइन् । अब भने पानीको जोह गर्नको लागि घण्टौँ समय बिताउनुपर्ने अवस्था नरहेको उनले बताइन् । “घरमा धारा नहुँदा पानीको निकै समस्या थियो”, उनले भनिन्, “अन्यत्रबाट बोकेर ल्याएर पानीको जोह गर्दै आएका थियौँ । घरमा नै धारा जडान भएपछि सहजता भएको छ ।”

घरमा धारा नहुँदा घण्टौँ परबाट डोकोमा बोकेर ल्याएर पानीको जोह गर्दै आएको अर्की स्थानीय सङ्गीता राईले बताइन् । घरको आँगनमा धारा जडानले सरसफाइसँगै खेर गएको पानी करेसाबारी प्रयोग गर्दै आएको उनले बताइन् । “विगतमा पानीको जोह गर्न डोको बोकेर ल्याउनुपर्ने अवस्था थियो”, उनले भनिन्, “अहिले धारा जडान भएपछि दैनिक कामकाजमा सहज छ । खेर गएको पानीको सदुपयोग गरेर करेसाबारीमा प्रयोग गरिरहेका छौँ । गाउँपालिकाले गरेको कामले हाम्रो दैनिकीमा परिवर्तन ल्याएको छ ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार