CLI

एमालेकाे महाधिबेशनकाे सम्पुर्ण तयारी पूरा, केपी ओलीले रिमोटबाट पाला बालेर उद्घाटन गर्ने

भक्तपुर। नेकपा (एमाले) ले पार्टीकाे ११ औँ राष्ट्रिय महाधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ। भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनी चौरमा आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत तयारीको सम्पुर्ण तयारी पूरा भएकाे जानकारी दिएकाे हाे ।

कार्यक्रममा महाधिवेशन जनपरिचालनका सञ्चालक तथा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले देशभरबाट करिब तीन लाख नेता तथा कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने अपेक्षा गरिएको बताए। उनले नेपालको सांस्कृतिक विविधता झल्काउन २ सय भन्दा बढी जातजातिको कला–संस्कृति प्रस्तुत गर्ने झाँकी प्रदर्शन गरिने जानकारी दिएका छन्  ।

उनले  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू उद्घाटन समारोहमा सहभागी हुने प्रतिबद्धता जनाइसकेको बताउँदै १६ वटा दलका अध्यक्ष वा प्रतिनिधि उपस्थित हुने जानकारी दिए। विभिन्न देशका कूटनीतिक नियोग तथा पार्टीहरूबाट समेत महाधिवेशन सफलताकाे शुभकामना सन्देश आइरहेका छन् ।
यसैगरी, महाधिवेशन स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालले कार्यक्रम शान्तिपूर्ण र व्यवस्थित बनाउन ५ सय बढी स्वयंसेवक ड्रेसकोडसहित खटिने र जनसेवा व्यवस्थापनका लागि १० हजार तालिमप्राप्त स्वयंसेवक परिचालन गरिने जानकारी दिए।
मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापन अन्तिम चरणमा पुगेको र आजै रातिसम्म सम्पूर्ण तयारी पूरा हुने जानकारी दिए । उनका अनुसार लिच्छविकालीन चाँगुनारायण मन्दिरलाई मुख्य स्वरूपमा राखेर उपत्यकाका महत्वपूर्ण मन्दिरहरूको संरचना समेटिएको, नेपालकै इतिहासमा पहिलो पटक यति ठुलो तथा कलात्मक मञ्च तयार गरिएको छ।

मञ्चको दायाँबायाँ ३०-३० फिट अग्ला दुईवटा एलईडी स्क्रिन जडान गरिएको छ भने तीन किलोमिटर परसम्म स्पष्ट सुनिने गरी ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम राखिएको छ। देशभरबाट आएका नेता, मन्त्री, सांसद तथा कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सीको व्यवस्था गरिएको श्रेष्ठले बताए। राष्ट्रिय एकताको प्रतीक झल्काउने साङ्गीतिक प्रस्तुति कलाकारहरूले मञ्चमै प्रस्तुत गर्ने तयारी छ ।

महाधिवेशन उद्घाटनमा मञ्चमा निर्माण गरिएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटद्वारा पाला बालेर उद्घाटन गर्ने व्यवस्था गरिएको श्रेष्ठले बताए। महाधिवेशन ११ औँ पटक हुन लागेकाले ११ वटा पार्टी झण्डा राखिने, तीमध्ये १० वटा झण्डा सुरुमा नै फहराइने र एउटा झण्डा रिमोटबाट फहराइने तयारी गरिएको जानकारी दिइयो।

उद्घाटन सत्रमा सहभागी हुन विभिन्न जिल्ला र प्रदेशबाट आउने सवारी साधनका लागि यातायात व्यवस्थापन पनि सार्वजनिक गरिएको छ। कोटेश्वरबाट गट्ठाघरसम्म सवारी आउन सकिने र त्यहाँ रहेको नागरिक उड्डयन प्राधिकरणको खुला चौरमा पार्किङको व्यवस्था मिलाइएको छ।


काभ्रेतर्फबाट आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङ क्षेत्र पार्किङ साइटको रूपमा तोकिएको छ। गट्ठाघर र जगाती दुवैतर्फबाट विशाल र्‍याली निकाली कार्यक्रमस्थल प्रवेश गरिने व्यवस्था गरिएको छ।

Leave Your Comment

Related News