चेपाङ विद्यार्थीले बनाएको स्याटलाइट अन्तरिक्षमा पुगेपछि प्रधानमन्त्रीले गरिन् प्रशंसा

काठमाडौं । चितवनका चेपाङ समुदायका विद्यार्थीहरूले निर्माण गरेको नानो स्याटलाइट ‘स्लिपर्स टु स्याट’ सफलतापूर्वक अन्तरिक्षको निर्धारित कक्षमा पुगेकोमा प्रधानमन्त्री सुशीला कार्कीले खुशी व्यक्त गरेकी छन् । शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै प्रधानमन्त्री कार्कीले यस कार्यमा संलग्न संलग्न विद्यार्थी तथा समूहलाई बधाई दिइन् ।

चिनियाँ रकेट ‘लिजियान-१ वाई११’ (काइनेटिका-१) मार्फत नेपाली स्याटलाइट बुधबार अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । अन्तरिक्ष प्रतिष्ठान नेपालको प्राविधिक सहयोग र चितवनको नवोदय माध्यमिक विद्यालयमा अध्ययनरत चेपाङ समुदायका विद्यार्थीहरूको सहभागितामा स्याटलाइट निर्माण गरिएको हो । चेपाङ समुदायका ७ र ८ कक्षामा अध्ययनरत विद्यार्थी स्याटेलाइट निर्माणमा संलग्न थिए ।

‘स्लिपर्स टु स्याट’ मिसनअन्तर्गत निर्माण गरिएको स्याटेलाइट बुधबार बिहान पौने १० बजे प्रक्षेपण गरिएको अन्तरिक्ष प्रतिष्ठान नेपालले जनाएको छ ।

चिनियाँ रकेटले नेपालको यो सानो स्याटलाइटसहित चीन, यूएई र इजिप्टका अन्य ८ स्याटलाइटहरूलाई पनि सफलतापूर्वक अन्तरिक्षमा पुर्‍याएको छ ।

यस उपलब्धिपछि प्रधानमन्त्री कार्कीले सीमित स्रोत र साधनका बाबजुद चेपाङ समुदायका विद्यार्थीले गरेको यो प्रयास प्रशंसनीय रहेको उल्लेख गरेकी छिन् । “सीमित सुविधाबिचको दैनिक जीवन र शैक्षिक परिवेशमा रहेर चितवनका चेपाङ समुदायका भाइबहिनीहरूले फत्ते गरेको यो प्रयास सुन्दर र प्रशंसनीय छ । देशका हरेक बालबालिका र युवामा विज्ञान-प्रविधिप्रति रुचि बढाउन यसले प्रेरणा दिनेछ,” उनले भनेकी छन् ।

यो नेपालभित्रै बनेर बनेको पहिलो स्याटेलाइट हो । यो स्याटेलाइट क्युब स्याटेलाइट हो । यसमा नेपाली–स्याट वन र मुनाल उपग्रहहरूले प्रयोग गरेको प्रविधि अपनाउँदै अझ विकसित रूपमा डिजाइन गरिएको छ ।
‘स्लिपर टु स्याट’ मिसनले प्राकृतिक विपत्तिमा आवश्यक पर्ने तथ्यांक प्रसारण गर्ने कार्यमा सहयोग गर्ने अपेक्षा लिइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार