CLI

नेकपा एमालेको सरकारविरुद्ध आन्दोलन सुरु

काठमाडौं । नेकपा एमाले झापाले असंवैधानिक सरकार विरुद्ध खवरदारी कार्यक्रम घोषणा गरेको छ ।  एमालले बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै खवरदारी कार्यक्रम घोषणा गरेको हो ।

एमाले झापाका अध्यक्ष प्रेम गिरीले सरकारको असंवैधानिक हर्कतका विरुद्ध जवाफ दिन खवरदारी कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए । उनले लोकतान्त्रिक शक्तिहरुलाई खवरदारी कार्यक्रममा सरिक हुन आव्हान समेत गरेका छन् । पुस १० गते बिर्तामोड र दमकमा खवरदारी कार्यक्रम गर्ने तयारी भएको गिरीको भनाई छ ।

वर्तमान सरकारले अध्याँरो कोठामा बसेर गरेको षड्यन्त्रको नेकपा एमालेले भण्डाफोर गरी जनतालाई सचेत गराउने उदेश्यले खबरदारी कार्यक्रम गर्न लागेको अध्यक्ष गिरीको भनाई छ । प्रतिगामी तत्वहरुको षड्यन्त्र उपर मुकदर्शक भएर बस्न नसक्ने भन्दै अध्यक्ष गिरीले पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहित अन्य नेता बिरुद्ध अनेक किसिमका बहानावाजी, षड्यन्त्र र आक्रमणको प्रयास भइरहेको जानकारी दिए । उनले लोकतान्त्रिक शक्तिहरु अब सरकारका सबै खाले षडयन्त्र विरुद्ध सडकमा आउने धारणा राखेका थिए ।

पालिका वडा र टोलसम्म सुरक्षा समिति परिचालन गर्ने, कसैमाथि आक्रमण नगर्ने तर, वर्तमान प्रतिगामी सत्ता र विदेशी दलालहरुबाट हुन सक्ने हुल हुज्जतलाई जवाफ दिन गाउँ–गाउँ र बस्ती–बस्तीमा प्रतिरक्षा गर्न समेत अपिल गरेको छ । पार्टीले विविध प्रदर्शनका थप कार्यक्रमहरु क्रमागत रुपमा आयोजना गर्दै जाने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

जारी विज्ञप्तिमा भनिएको छ, गत भदौं २४ गतेको देशव्यापी विध्वंस आकस्मिक नभई देशी तथा विदेशी शक्तिहरुको लामो योजना र षड्यन्त्रको परिणाम हो ।

Leave Your Comment

Related News