काठमाडौं । नेपालमा नक्कली नोटको कारोबार मौलाएको छ । यस्तो कारोबार शून्य बनाउन नेपाल प्रहरी असफल देखिएको हो । सोमबार मात्रै नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ परेका हुन् ।
अर्थतन्त्रमा सुस्तता आइरहेको समयमा अवैध कार्य निरुत्साहित हुनुपर्नेमा नक्कली नोट छाप्ने मेसिनसहित मानिसहरु पक्राउ परेका हुन् । प्रहरीले बाराको कलैया उपमहानगरपालिका–२ का २८ वर्षीय गौरीशंकर यादव र फेटा गाउँपालिका–३ का २८ वर्षीय रविकुमार श्रीवास्तवलाई बाराबाट पक्राउ गरेको हो ।
श्रीवास्तवले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर प्रिन्टिङ मेसिनलगायत सामग्री नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले केही दिनअघि गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट एक हजार दरको ९३ थान नक्कली नोटसहित छ जनालाई नियन्त्रणमा लिएको थियो ।


