CLI

प्रधानमन्त्रीले घिसिङलाई भनिन् – ‘आउँदा दिनमा देशको निम्ति अझै ठूलो काम गर्न सक्नुहुनेछ ‘

तस्बिर: केशव थापा/प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले राजीनामा पेस गरेका छन् । उनले बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी बुधबार साँझ राजीनामापत्र बुझाएका हुन् ।

प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गरेकामा घिसिङलाई बधाई र धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ ।

‘निकै प्रतिकूल अवस्थामा तपाईँले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभएको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘रातदिन नभनी खट्नुभयो । देशका विभिन्न भागमा पुग्नुभयो । विपद्का बेला उस्तै सक्रिय रहनुभयो । विपद्ग्रस्त क्षेत्रमा आफै पुगेर खट्नुभयो । हाम्रो विकास निर्माणका बेथितिहरुविरुद्ध कठोर कदम चाल्नुभयो । यो कुरा देशले सम्झनेछ । जनताले मूल्यांकन गर्नुहुनेछ ।’

‘तपाईँ आफ्नो रहरले वा कुनै स्वार्थ राखेर आउनुभएको होइन । हामीले नै निम्त्याएका हौं । अझ जेन-जी युवाले तपाईँको माग गरेका हुन् । चुनाव लागेपछि राजनीतिमा जान छुट पाउने गरी नै तपाईँलाई हामीले भित्र्याएका हौं । कुनै सुविधा पनि नलिएर तपाईँले निःस्वार्थ सेवा गर्नुभयो,’ प्रधानमन्त्री कार्कीले घिसिङलाई सम्मानस्वरुप खादा पहिराइदिँदै भनिन्, ‘आउँदा दिनमा अझै देशको निम्ति अझै ठूलो काम गर्न सक्नुहुनेछ । यसका निम्ति म बधाई अहिले नै दिन चाहन्छु ।’

मन्त्री घिसिङले अन्तरिमकालमा काम गर्ने अवसर प्रदान गरेकामा प्रधानमन्त्रीप्रति आभार प्रकट गरे ।

Leave Your Comment

Related News