काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ५७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १२.५ प्रतिशत धेरै हो । गत वर्षको पुसमा यस संस्थाले ५१ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब ३५ करोड ८७ लाख रुपैयाँबाट बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कुल सञ्चालन आम्दानी बढेर १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।
इम्पेयरमेन्ट चार्ज भने घटेर २ करोड ५३ लाख रुपैयाँ कायम भएको छ । आम्दानी बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा सुधार आएको हो । कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६१ करोड ७२ लाख रुपैयाँ रहेको छ । साथै, सेयर प्रिमियम ४० करोड ९६ लाख रुपैयाँ, जगेडा कोषमा १ अर्ब ७१ करोड ५६ लाख रुपैयाँ र रिजर्भमा ३ अर्ब ७ करोड ८० लाख रुपैयाँ रहेको छ ।
संस्थाको प्रतिसेयर आम्दानी ३१.८५ रुपैयाँ पुगेको छ भने खराब कर्जा अनुपात २.४५ प्रतिशतमा सीमित भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २३३.६६ रुपैयाँ रहेको छ ।


