काठमाडौं । नेपाल टेलिकमका जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरुले कम्पनीमा रहेको ग्राहक विवरण (KYC – Know Your Customer) अब आफैले अनलाइनमार्फत भरेर अपडेट गर्न सक्ने व्यवस्था गरिएको छ ।
गत पुस २२ गते दूरसञ्चार कार्यालय, सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएकोमा कम्पनीको २२औं वार्षिकोत्सवको अवसरमा २०८२ माघ २२ देखि देशभरका सबै कार्यालयबाट यो सुविधा उपलब्ध हुने व्यवस्था गरिएको हो ।
यस अनुसार हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनु पर्ने अवस्था भएका ग्राहकहरुले कस्टमर लगइन पोर्टल https://kyc.ntc.net.np/ मार्फत आवश्यक विवरण भर्न सक्ने छन् ।
यसका लागि सम्बन्धित मोबाइल नम्बरमा प्राप्त ओटीपी राखेर त्यसै अनुसार आफ्नो व्यक्तिगत र अन्य विवरण सहित आफूले धेरै कल गर्ने ५ वटा मोबाइल नम्बर समेत राख्नु पर्छ। सबै विवरण भरिसके पश्चात प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकमको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नु पर्छ । सो विवरणको आधारमा नेपाल टेलिकमको सिस्टमले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ । अहिले पनि धेरै ग्राहकहरुको व्यक्तिगत विवरण अद्यावधिक नभएको अवस्थामा यसबाट धेरै ग्राहकलाई विवरण अद्यावधिक गर्न सहज हुनेछ । यसबाट अन्य सरकारी निकायमा समेत आफ्नो विवरण अद्यावधिक राख्न सजिलो हुने अपेक्षा गरिएको छ ।


