काठमाडौं । नेपाल–कतारबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसहित कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको व्यवसायी प्रतिनिधिमण्डल काठमाडौं आएको छ ।
प्रतिनिधिमण्डलको नेतृत्व बोर्ड सदस्य मोहद अहमद एम. ए अलोबैद्लीले गरेका छन् । प्रतिनिधिमण्डलले मंगलबार नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलसँग भेटघाट गरी दुई देशबीचको आर्थिक सम्बन्ध, बैंकिङ प्रणालीमा सहकार्य, लगानी प्रवद्र्धनका सम्भावना र द्विपक्षीय लगानी तथा बैंकिङ सहकार्यका विविध विषयमा विस्तृत छलफल गरेको छ ।
नेपाल–कतार बीचको व्यापारिक र लगानी साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा प्रतिनिधिमण्डल काठमाडौँ आएको हो । महासंघका अध्यक्ष चन्द्र ढकालले सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै, छलफलले दुवै देशबीचको आर्थिक सहकार्यमा नयाँ अवसर थप्ने विश्वास व्यक्त गरेका छन् ।


