CLI

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावित : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुनु अत्यावश्यक रहेको बताएका छन् । “अर्थतन्त्र सही तरिकाले चल्नका निमित्त सही सूचना प्रवाह आवश्यक हुन्छ,” उनले भने ।

मिडियामा सूचनाको हक प्रयोगसम्बन्धी शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री खनालले सूचनामा असमान पहुँचका कारण बजारमा ठूलो असन्तुलन देखिएको बताए । खनालका अनुसार, सूचनाको हकसम्बन्धी कानुनले मात्र नभई विभिन्न मापदण्ड र कानुनले पनि सूचना प्रवाहलाई सम्बोधन गरेका छन् ।

“अहिले हामीलाई सूचनाको हकसम्बन्धी ऐनले मात्रै हामीलाई सूचना खोजी गर्ने अवसर दिएको छैन । नेपालका  लेखा मापदण्डहरूले ठूला कम्पनीहरू, अर्थतन्त्रको ठूलो आकार ओगट्ने नेपालका घरनाहरूले कस्तो कारोबार गरेका छन् ? त्यसले आम नागरिकको आम जिवनमा कस्तो प्रभाव परेको छ र उनीहरूले कस्ता सूचना प्रवाह गर्नुपर्छ भन्ने सन्दर्भमा लेखामापदण्डहरूले निर्धारण गरेको छ,” खनालले भने ।

तर, व्यवहारमा सबै पुँजीबजारका लगानीकर्ताले एउटै समयमा समान सूचना नपाउँदा  प्रतिस्पर्धा प्रभावित भइरहेको उनको भनाइ छ । पुँजीबजारमा ‘इन्साइडर ट्रेडिङ’का कारण केही व्यक्तिले सूचनामाथि एकाधिकार कायम गरिरहेको अर्थमन्त्री खनालले बताए ।

“पुँजीबजारमा इन्साइडर ट्रेडिङका कारणले कतिपय व्यक्तिहरूले सूचनाको एकाधिकार प्राप्त गरिरहेका छन् । सबै लगानीकर्ताले समान तवरले समान निर्णय गर्न सूचना त्यही समयमा पाउन सकिरहेका छैनन्,” मन्त्री खनालले भने, “त्यही सूचना पनि कतिपयले १० दिन पछि प्राप्त गर्‍यो । कुनैले तत्काल रियल टाइममा प्राप्त गर्‍यो भने त्यही अवसर र लाभमा ठूलो फरक आउँछ ।”

खनालका अनुसार, धातु बजारमा सुन–चाँदीको मूल्यबारे समयमै सूचना पाउने र ढिलो पाउने व्यवसायीबीच नाफा–नोक्सानीमा ठूलो फरक पर्छ ।

“धातु बजारमा सुन-चाँदीको मूल्य कसरी बढ्दै छ भन्ने सूचना कुनै व्यवसायीले रियल टाइममा प्राप्त गर्नसक्यो र अर्को व्यवसायीले समय ग्रुजिसकेपछि प्राप्त गर्‍यो भने ती दुईबीचमा लाभ र हानीमा ठूलो फरक हुन्छ,” उनले भने ।

Leave Your Comment

Related News