CLI

मतदातालाई रिझाउन रणनीति तयार गर्दै उम्मेदवारहरू : सोमबारदेखि थप चुनावी प्रचार

चितवन । आसन्न निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल र तिनका उम्मेदवार र कार्यकर्ता मतदातासंगका भेटघाटमा व्यस्त छन् । चितवनका राजनीतिक दल र उम्मेदवारहरूले भोलि (सोमबार) देखि थप चुनावी प्रचारको तयारीमा जुट्ने आन्तरिक तयारी गरेका छन् । साथै उनीहरुले मतदातालाई आफ्नो पक्षमा कसरी रिझाउन भन्ने विषयमा रणनीति समेत तयार गर्दैछन् ।

स्थानीय समस्यालाई चुनावी कार्ययोजना बनाएका सबै दलले प्रचारलाई तीव्र बनाउनेगरी गृहकार्य गरिरहेका जानकारी दिएका छन् । तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा तीनवटै क्षेत्रका टोल तहबाट प्रचार अभियानलाई तीव्र बनाउने गरी गृहकार्य गरिरहेको दलहरूको भनाइ छ ।

नेपाली कांग्रेस चितवनले प्रचार अभियानलाई टोल तहबाट सञ्चालन गर्ने गरी तयारी गरिरहेको जनाएको छ । पार्टीका जिल्ला सचिव ध्रुव पोखरेलले तीनवटै निर्वाचन क्षेत्रका क्षेत्रीय प्रचार कार्यालय सञ्चालन गरी विधिवत रूपबाट घरदैलो कार्यक्रम सुरुआत हुन जानकारी दिए । उनले भने, “पार्टीका केन्द्रीय सभापति गगन थापा र केन्द्रीय प्रचार संयोजक देवराज चालिसेसँग समन्वय गरी ठूलो सभा गर्ने तयारी गरेका छौँ । ”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनका इन्चार्ज देवी ज्ञवालीले सोमबारबाट वडा तहमा घरदैलोसँगै कोणसभा गर्ने तयारी रहेको जानकारी दिए । उनले भने, “सभालाई केन्द्रीय नेताले सम्बोधन गर्ने सम्भावित कार्यसूचि रहेको छ ।”

यसैगरी नेपाली कम्युनिष्ट पार्टी चितवनका संयोजक रामचन्द्र अधिकारीले सोमबारबाट नै घरदैलो, कोणसभा र सभा गर्नेगरी आज तालिका तयार गर्न लागिएको जानकारी दिए । केन्द्रीय नेताहरूको उपस्थितिमा कहिले सभा गर्ने भन्ने टुङ्गो लागि नसकेको जनाउँदै उनले तीनवटै क्षेत्रमा प्रचार तीव्रगतिमा गराइने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य राजन गौतमले सोमबारबाट प्रचारप्रसारलाई तीव्र गर्नेगरी तयारी भइरहेको जानकारी दिए । उनले भने, “ घरदैलो, कोणसभा र सभाहरू गरिने जनाउँदै उहाँले केन्द्रीय नेताहरूको उपस्थितिमा बृहत सभा गरिने छ ।”

अन्य राजनीतिक दलहरु र तिनका उम्मेदवारले पनि चुनावी प्रचारलाई तीव्रता दिने तयारी गरेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ¬्गोल नेसनल अर्गनाइजेसन, जनता समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टी, जनमत पार्टी, प्रगतिशील लोकतान्त्रक पार्टी, श्रम संस्कृति पार्टी, नेसनल रिपब्लिकन नेपाल, नेपाल मजदुर किसान पार्टी, नागरिक उन्मुक्तिलगायतका पार्टी र स्वतन्त्र उम्मेदवारले चुनावी प्रचार तीव्र पार्ने तयारी गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यही फागुन २१ गते हुने निर्वाचनमा जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । यसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ महिला एवं दुई जना तेस्रो लिङ्गी रहेका छन् ।

उनीहरूले १६२ वटा स्थल र ४९४ वटा केन्द्रबाट मतदान गर्नेछन् । निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले प्रतिनिधिसभा निर्वाचन २०७९ को निर्वाचनको तुलनामा यस वर्ष हुने प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ७४० नयाँ मतदाता थपिएका छन् भने ३४ वटा मतदान केन्द्र थप भएको बताए ।

क्षेत्र नं १ मा एक लाख ४९ हजार ६२१ मतदाता छन् । यसमा ७६ हजार ७६१ पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ मतदानस्थल र १६८ मतदान केन्द्र रहेका छन् ।

यस्तै क्षेत्र नं २ मा एक लाख ३७ हजार १५२ मतदाता रहेका छन् । तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । यहाँ ४८ स्थल र १५२ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्नेछन् ।

क्षेत्र नं ३ मा एक लाख ५५ हजार ३०९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तीमध्ये ७५ हजार ६९६ पुरुष र ७९ हजार ६१२ महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । उनीहरूले ६३ स्थल र १७४ केन्द्रबाट मतदान गर्नेछन् ।

Leave Your Comment

Related News