काठमाडौं । २५० जनालाई अवैध तरिकाले अमेरिका पठाएको आरोप लागेका व्यक्तिविरुद्ध करिब एक अर्ब बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ ।
मुद्दा दायर हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ घर भएका कलबहादुर बस्नेत र रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ घर भएका अमित बस्नेत छन् । उनीहरूविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको थियो ।
कलबहादुर यसअघि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका छन्। अमित फरार रहेको ब्युरोका प्रवक्ता एसपी राजन लिम्बुले बताए।
प्रतिवादी कलबहादुर बस्नेतलाई उनको नाममा विभिन्न बैंकहरूमा कसुरजन्य कार्यबाट प्राप्त भएको ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ ३३ पैसा बिगो कायम गरी मागदाबी लिइएको छ।
अर्का प्रतिवादी अमित बस्नेतलाई निजको नाममा विभिन्न बैंकहरूमा कसुरजन्य कार्यबाट प्राप्त भएको २७ करोड ४५ लाख २९ हजार २८ रुपैयाँ ९४ पैसा बिगो कायम गरिएको छ।
प्रतिवादीहरूले करिब २५० जना नेपाली नागरिकहरूलाई विनाइजाजत कानुन विपरीत गैरकानुनी बाटोबाट विभिन्न देश हुँदै मानव तस्करीको रुपमा अमेरिका प्रवेश गराएको पाइएको एसपी लामाले बताए।
यस्तै केही मानिसहरूलाई अमेरिका लैजाने भनि विभिन्न देशमा लगी अलपत्र पारेको मानव बेचबिखन, ठगी तथा वैदेशिक रोजगार ठगी समेतका कसुर गरेको र सो कसुरबाट आर्जित रकम मध्ये प्रतिवादीहरूले केही रकम नगदै र केही रकम आफ्नो नाममा सञ्चालनमा रहेका विभिन्न बैंक खाताहरूमा जम्मा गर्न लगाउने गरेको देखिएको प्रहरीको दाबी छ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन‚२०६४ अनुसार विगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार दुई वर्षदेखि पन्ध्र वर्षसम्म कैद सजाय गर्न माग समेत गरिएको छ।
उनीहरूको नाममा रहेका घरजग्गा, बैंक मौज्दात तथा बिमा रकम सम्पत्ति शुद्धीकरण निवारण ऐन‚ २०६४ को दफा ३४ बमोजिम जफत गरी पाउन मागदावी लिइएको छ।


