CLI

काठमाडौंबाट सुकुम्बासी खेद्ने, झापा पुगेर सुकुम्बासीको पक्षमा छु भन्ने राजनीति घातक छः वर्षमान

काठमाडौं ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन (अनन्त) ले लोकप्रियतावादी राजनीति मुलुकका लागि घातक हुन सक्ने तर्क गरेका छन् । गृह जिल्ला रोल्पाको लिवाङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा रोल्पाबाट नेकपाका प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका पुनले स्पष्ट विचार, दृष्टिकोण र गन्तव्यबिनाको राजनीतिले मुलुकलाई सही दिशा दिन नसक्ने बताएका हुन् ।

कुन ठाउँमा के बोल्दा मानिसले मन पराउँछन् भन्ने आधारमा बोल्दै हिंड्नेहरुले देशको नेतृत्व लिन नसक्ने भनाइ उनको छ । काठमाडौंमा संघीयताको विरोध गर्ने र जनकपुर पुगेर संघीयता चाहिन्छ भन्ने तथा काठमाडौंबाट सुकुम्बासीलाई लखेटेर झापामा पुगेपछि सुकुम्बासीको पक्षमा काम गर्छु भन्नेजस्ता असंगत अभिव्यक्ति दिनेहरुबाट कुनै आशा गर्न नसकिने तर्क पुनले गरे । उनले आफूलाई नयाँ भन्ने राजनीतिक दललाई आफ्नो विचा, राजनीति र कार्यदिशा स्पष्ट गर्न आग्रह गरे ।

‘काठमाडौंमा संघीयताको विरोध गर्ने र जनकपुर गएपछि संघीयता चाहिन्छ भन्ने । काठमाडौंमा सुकुम्बासी, ठेलागाडामा व्यापार गर्नेहरु र कबाडीको काम गर्नेलाई खेद्ने अनि झापा झरेपछि सुकुम्बासीको पक्षमा छौं भन्ने’,पुनले भने, ‘जहाँ जसले जे सुन्न चाहेको छ त्यही बोल्ने ‘पपुलिष्ट’ राजनीति घातक छ । ‘हामी नयाँ हौं भन्ने साथीहरुलाई आफ्नो विचार, राजनीति र कार्यदिशा स्पष्ट गर्न म आग्रह गर्न चाहन्छु ।’

उनको भनाइ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उक्त दलले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका बालेन्द्र शाह (बालेन) प्रति लक्षित भए पनि कसैको नाम भने लिएनन् । यद्यपि वर्तमान संघीय लोकतान्त्रिक शासन प्रणाली स्वीकार गर्ने स्पष्ट प्रतिबद्धता तथा गणतन्त्रलाई समाजवादसँग जोड्ने, असमावेशीतलाई पूर्ण समावेशीतालामा लैजाने, धनी र गरिबबीचको खाडल पुरेर समानता कायम गर्ने एजेण्डामा समहत भए नयाँ भनिएका दलसँग सहकार्यका लागि तयार रहेको पुनले बताए ।

‘हामी नयाँसँग काम गर्न तयार छौं । तर, अहिलेको उपलब्धी खोसेर पछि हट्न खोज्ने नयाँसँग होइन, अहिलेको उपलब्धी जोगाएर अघि बढ्ने नयाँसँग काम गर्न हामी तयार छौं ।’

पुनले विचार, राजनीति र एजेण्डाले नेपाली कम्युनिष्ट पार्टी नयाँ दल भएको दाबी गरे । आफूहरु यथास्थितिवादी तथा नयाँका नाममा दक्षिणपन्थी लोकप्रियतावादी नभएको बताए । ‘विचारले नयाँ, राजनीतिले नयाँ, एजेण्डाले नयाँ हामी हौं’, उनले भने, ‘यथास्थितिवादी र नयाँका नाममा दक्षिणपन्थी लोकप्रियतावादी पनि होइनौं हामी । जनताले बुझ्नुपर्ने विषय यो छ ।’

असामान्य अवस्थामा चुनाव हुन लागेको चर्चा गर्दै पुनले । एक थान संसद् र एक थान सरकार चुन्न चुनाव हुँदैछैन भन्ने बुझेर मतदान गर्न मतादातालाई अपिल गरे । राष्ट्रिय स्वाधीनताको मुद्धा पेचिलो बनेकाले आफूहरु स्वाधीनता, सुशासन, समृद्धि र सामाजिक न्यायको स्पष्ट एजेण्डा समेटिएको चुनावी घोषणापत्रसहित चुनावमा होमिएको उनको भनाइ छ ।

पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा १८ महिना चलेको सरकारले राज्य दोहन र विचौलिया प्रवृक्ति नियन्त्रणको अभियान चलाएपछि काँग्रेस र एमाले डराएर केपी ओली नेतृत्वमा सरकार बनाएको बताए । प्रचण्डले थालेको सुशसनको अभियान रोक्न ओली नेतृत्वमा सरकार बनेपछि राज्य दोहन, अनियमितता र बिचौलिया प्रवृत्ति हाबी भएकाले भदौ २३ मा नवयुवाको आन्दोलन भएको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा उनले रोल्पाले सडक, विद्युत, खानेपानी, स्वास्थ्य, शिक्षा र सिंचाइजस्ता पूर्वाधार विकासमा विगतको तुलनामा फड्को मारेको दाबी गर्दै अधुरो आयोजना पूरा गर्न आफ्नो तर्फबाट सहजीकरण हुने प्रतिबद्धता जनाए । फरक प्रसंगमा पुनले केही शक्ति र व्यक्तिहरुले निर्वाचन हुँदैन भने पनि मुलुक निर्वाचनमा होमिएको र कसैले पनि निर्वाचन रोक्न नसक्ने स्पष्ट गरे ।

Leave Your Comment

Related News