मुस्ताङ। प्रधानमन्त्री सुशीला कार्कीले वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छन् । नेपाली सेनाको हेलिकोप्टरबाट यहाँ आएकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन गरेकी हुन्।
विकास समितिका उपाध्यक्ष गुरुङले मन्दिर क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण योजनाबारे पुरातत्व विभागमा फाइल पेस भए पनि स्वीकृतिका लागि विलम्ब भइरहेकाले काम गर्न नसकिएको गुनासो गरिएको जानकारी दिए । जवाफमा प्रधानमन्त्री कार्कीले यस विषयमा पुरातत्व विभागका महानिर्देशकसँग बुझेर आवश्यक प्रक्रिया अघि बढाउने जानकारी प्राप्त भएको मुक्तिनाथ विकास समितिका व्यवस्थापक भुसालले बताए ।
यसैबीच प्रधानमन्त्री कार्कीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्र्न निर्देशन दिएकी छन् । जोमसोमस्थित इन्द्र बक्स गणमा आयोजित निर्वाचनलक्षित छलफल तथा अन्तरक्रियामा उनले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिइन् । प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै उनले भनिन्, “निर्वाचनलाई सफल बनाउन दत्तचित्त भएर काम गर्नुहोस्, यहाँहरूले राम्रो काम गर्नुभएको छ, कुनै समस्या नआउने गरी तयारी गर्नुहोला ।”
प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लाको समग्र सुरक्षा अवस्था र निर्वाचनलक्षित सुरक्षा योजनाबारे जानकारी गराएकी थिइन् । यसैगरी जिल्ला मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म भएका कार्यप्रगतिलगायत विषयमा प्रधानमन्त्रीसमक्ष जानकारी गराए ।


