काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २४ घण्टामै ४.५ डिग्री सेल्सियस घटेको छ।
मौसम पूर्वानुमान महाशाखाले दिएको विवरणअनुसार शुक्रबार (हिजो) १२ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम शनिबार आज ७.५ डिग्री सेल्सियसमा झरेको हो।
मौसमविद्का अनुसार मौसम बदली भई राति आकाशमा बादल लागेका बेला बिहान न्यूनतम तापक्रम बढ्छ भने रातभर आकाश सफा रहँदा घट्छ।
फेरि अधिकतम तापक्रमचाहिँ यसको ठिक उल्टो दिउँसो दिनभर बादल लाग्यो भने घट्छ, आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ।
यद्यपि हिउँद याम सकिन लागेकाले समग्रममा तापक्रम बढ्दो क्रममै रहेको मौसमविद् बताउँछन्।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको अवस्था बताउँछ।


