काठमाडौं । शेयर बजारमा सुरक्षित लगानी गरी उच्च मुनाफा कमाउन चाहने लगानीकर्ताका लागि गरिमा क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड योजना सार्वजनिक गरेको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरिमा विकास बैंकको सहायक कम्पनीले खुलामुखी म्युचुअल फण्ड योजना ‘गरिमा सुवर्ण योजना’ बजारमा ल्याएको हो ।
१ अर्ब रुपैयाँ कुल आकारको यस योजनामा प्रति एकाइ १० रुपैयाँका दरले न्यूनतम १ हजार रुपैयाँदेखि नै लगानी सुरु गर्न सकिन्छ ।
“७ वर्षमा लगानीलाई दोब्बरभन्दा बढी बनाउने लक्ष्यका साथ आएको यस योजनाले साधारण जनतालाई पनि आर्थिक समृद्धिको बाटोमा लैजाने हाम्रो विश्वास छ।” – गरिमा क्यापिटलले भनेको छ ।
किन गर्ने त लगानी ?
१. उच्च प्रतिफलको लक्ष्य: गरिमा क्यापिटलका अनुसार यस योजनाले आगामी ७ वर्षमा औसत १९.१३ प्रतिशत वार्षिक प्रतिफल दिने प्रक्षेपण गरेको छ।
२. व्यावसायिक व्यवस्थापन: कुन शेयर किन्ने वा बेच्ने भन्ने प्राविधिक ज्ञान नभएका लगानीकर्ताका लागि अनुभवी फण्ड म्यानेजरहरूले लगानी परिचालन गर्नेछन्।
३. जोखिमको विविधीकरण: संकलित रकमलाई शेयर, ऋणपत्र, सरकारी ट्रेजरी बिल र मुद्दती निक्षेपमा बाँडेर लगानी गरिने हुनाले जोखिम न्यून हुन्छ।
४. जतिबेला पनि खरिद-बिक्री: खुलामुखी योजना भएकाले लगानीकर्ताले निश्चित अवधि कुर्नुपर्ने झन्झट हुँदैन। आफूलाई पैसा चाहिएको बेला प्रचलित खुद सम्पत्ति मूल्य (NAV) मा एकाइहरू बिक्री गर्न सकिन्छ।
५. सस्तो लगानी: मात्र १,००० रुपैयाँबाट लगानी सुरु गर्न सकिने भएकाले विद्यार्थी, गृहिणी र साना बचतकर्ताका लागि यो सुनौलो अवसर हो।
६. विश्वसनीयता: गरिमा विकास बैंक प्रवद्र्धक रहेको र इक्रा नेपालबाट राम्रो रेटिङ प्राप्त गरेकाले यसको व्यवस्थापन पक्ष बलियो छ।
७. पारदर्शिता र नियमन: धितोपत्र बोर्डको प्रत्यक्ष रेखदेख र नियमनमा रहने हुँदा लगानीकर्ताको रकम पूर्ण सुरक्षित रहन्छ।
कहाँ गरिन्छ लगानी ?
यस योजनाले संकलित रकमको ७८ प्रतिशत हिस्सा शेयर बजारमा लगानी गर्ने रणनीति लिएको छ। जसमा दीर्घकालीन लगानीमा ४५ प्रतिशत र ट्रेडिङमा ३० प्रतिशत परिचालन गरिनेछ । बाँकी रकम ऋणपत्र (१२ प्रतिशत) र बैंक निक्षेप (१० प्रतिशत) मा राखिनेछ ।


