कैलाली । फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नं–४ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत हरिप्रसाद आचार्यका अनुसार सर्वदलीय बैठक बसेपछि कैलालीको गेटास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको हो । मतगणना गोदावरी नगरपालिका–१ बाट थालिएको उनले जानकारी दिए ।
कैलाली–४ मा कुल एक लाख १५ हजार १४३ मतदाता रहेकामा ६३ हजार ३४ जनाले मतदान गरेका थिए । सो क्षेत्रमा ५४.७४ प्रतिशत मत खसेको थियो । कैलाली–४ मा नेपाली कांग्रेसबाट गोरखबहादुर बिष्ट (आनन्द), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट लेखराज भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट खेमराज कोइरालालगायत उम्मेदवारले चुनाव लडेका छन् ।
कैलाली–१ मा रास्वपाको अग्रता कैलाली निर्वाचन क्षेत्र नं–१ मा २ हजार ९६० मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता हासिल गरेको छ । सो क्षेत्रमा रास्वपाका उम्मेदवार कोमल ज्ञवालीले ८६२ मत प्राप्त गरेका छन् । कांग्रेसका जनकराज चौधरीले ७१७, स्वतन्त्र उम्मेदवार फागुराम थारुले ६४६, नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौँरा थारुले २०७ मत, नेकपा (एमाले) का द्वारिकाप्रसाद न्यौपानेले १८९ मत तथा उज्यालो नेपाल पार्टीका उम्मेदवार प्रदिपकुमार चौधरीले १२२ मत प्राप्त गरेका छन् ।


