उच्च जोखिमको सूचना जारी भएका दिन रात्रिकालीन सवारी चलाउन नपाइने

काठमाडौं । ‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ ।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाको शुक्रबारको बैठकले उक्त निर्णय गरको हो ।

जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी भएका जिल्ला र क्षेत्रहरूमा तत्‌तत् दिनमा रात्रिकालीन सवारी नचलाउने निर्णय भएको छ । यसको कार्यतालिका यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले जानकारी दिए ।

यो निर्णयसँग बाढी–पहिरो आउनसक्ने सम्भावनाको सूचना जारी भएको राति सवारी चलाउन पाइने छैन ।

यसअघि सुरुमा गृहले बर्खायामभर रात्रिकालीन सवारी नचलाउने प्रस्ताव गरेको थियो । तर यातायात व्यवसायीले उक्त प्रस्ताव वैज्ञानिक नभएको भन्दै अस्विकार गरेको थियो ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो ।

अहिलेसम्म दुवै बसको अवस्था पत्ता लागेको छैन । बसमा कति यात्रु थिए भन्ने यकिन नभए पनि तीन जना पौडिएर निस्किएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार