CLI

आगामी ५ वर्षमा शिक्षा र स्वास्थ्य सुधार सरकारको प्राथमिकता: मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको सुधारलाई सरकारको पहिलो प्राथमिकता बनाइएको बताएका छन् ।  मंगलबार कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै उनले देशभरको शिक्षा क्षेत्र सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताए।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रमा क्रमशः सुधार हुँदै जाने बताए। पहिलो वर्षमा प्राथमिकताका आधारमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले लगानी गर्ने उनको भनाइ थियो।

“विगतमा पहुँच कम भएका विद्यालय तथा विश्वविद्यालयलाई सरकारले बढी प्राथमिकतामा राख्नेछ,” उनले भने, “आगामी पाँच वर्षभित्र क्रमशः सबै क्षेत्रमा सुधार गर्दै जानेछौं। पहुँच कम भएका क्षेत्रमा लगानी र अनुदान पनि बढाइनेछ।”

मन्त्री पोखरेलले सरकारको प्राथमिकताका विषयलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्न विश्वविद्यालयका पदाधिकारी र कर्मचारीलाई निर्देशन दिएका छन्। उनले आगामी पाँच वर्ष नेपालका लागि परीक्षणकाल हुने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदलगायत सबै क्षेत्रको आ-आफ्नै महत्व रहेको बताए। यी क्षेत्रको विकासका लागि सबै पक्ष मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए।

यसअघि मंगलबार नै मन्त्री पोखरेलले धनगढीस्थित फाप्ला क्रिकेट मैदानको निरीक्षण गर्नुका साथै खेलाडीहरूसँग अन्तरक्रिया गरेका थिए। सो अवसरमा उनले फाप्ला क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्न राज्यले विशेष महत्व दिएको बताए। उनले रंगशालाको स्रोत व्यवस्थापन र सञ्चालनलाई अझ प्रभावकारी बनाइने पनि बताएका छन्।

मन्त्री पोखरेलले बुधबार कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सभा (सिनेट बैठक) को अध्यक्षता गर्ने तथा विभिन्न शैक्षिक र खेलकुद क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ।

Leave Your Comment

Related News