CLI

सरकारी बिमा कम्पनीहरुमा सुशासन चुनौती, साधारण सभा हुँदैन, पुँजी वृद्धि लक्ष्य पनि अधुरै

काठमाडौं । राष्ट्रिय बिमा संस्थान विभाजनपछि जीवन र निर्जीवन बिमामा देखिएको प्रशासनिक सुस्तता, साधारण सभा ढिलाइ र पुँजी व्यवस्थापन चुनौती गम्भीर बनेको छ । नेपालमा बिमा क्षेत्रको ऐतिहासिक संरचनाबाट सुरु भएको राष्ट्रिय बिमा संस्थान समयक्रमसँगै जीवन र निर्जीवन बिमामा विभाजन भई हाल राष्ट्रिय जीवन बिमा कम्पनी र राष्ट्रिय बिमा कम्पनीका रुपमा सञ्चालन हुँदै आएका छन् ।

प्रारम्भमा एउटै संस्थाका रुपमा रहेको राष्ट्रिय बिमा संस्थानपछि संरचनागत विभाजनपछि अलग–अलग कम्पनी बनेको हो । तर विभाजनपछि अपेक्षित संस्थागत सुधार, पारदर्शिता र समयमै निर्णय प्रक्रिया भने कमजोर बनेको सरोकारवालाहरुको टिप्पणी छ।

राष्ट्रिय जीवन बिमा कम्पनीका एक सञ्चालकले इतिहासबारे टिप्पणी गर्दै भने, “जीवन र निर्जीवन बिमा पहिला एउटै संस्थान अन्तर्गत थियो । पछि विभाजन भयो र अहिले छुट्टाछुट्टै कम्पनीका रुपमा सञ्चालन भइरहेका छन् ।”

हाल राष्ट्रिय जीवन बिमा कम्पनी र राष्ट्रिय बिमा कम्पनी दुवैमा साधारण सभा नियमित रुपमा समयमै हुन नसक्नु प्रमुख समस्या बनेको छ । राष्ट्रिय जीवन बिमा कम्पनीको आर्थिक वर्ष २०७४–७५ र २०७५–७६ को साधारण सभा गएको चैत २७ गते सम्पन्न भएको थियो । अब थप ६ वर्षको सभा हुन बाँकी छ ।  नियमित साधारण सभा नहुँदा कम्पनीका वित्तीय निर्णय र प्रस्तावहरु अलपत्र अवस्थामा रहेको बताइएको छ ।

त्यस्तै, राष्ट्रिय बिमा कम्पनीले पनि आर्थिक वर्ष २०७५–७६ र २०७६–७७ को साधारण सभा गत वर्ष असारमा बोलाए पनि त्यसपछि पुनः कुनै सभा नबोलाइएको अवस्था छ । साधारण सभा नहुँदा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षण अनुमोदन गर्ने तथा नयाँ रणनीतिक योजना पेश गर्ने कार्यसमेत प्रभावित भएको छ ।

एक सञ्चालकले कम्पनीको आन्तरिक अवस्थाबारे टिप्पणी गर्दै भने, “पहिला एउटै कम्पनी हुँदा जीवन र निर्जीवन बिमाको हिसाब अलग–अलग नै हुन्थ्यो । तर पछि विभाजन भएपछि ड्यू डिलिजेन्स (DDA) राम्रोसँग नभएको देखिन्छ । सम्पत्ति र दायित्वको मूल्यांकनमा कमजोरी भएको छ।” उनले थप भने, “अहिले केही सुधार भए पनि यो सबै सरकारको निकम्मापनको परिणाम हो । पहिलेदेखि नै तदारुकता देखाएको भए आज यस्तो अवस्था आउने थिएन।”

तथ्यांकअनुसार राष्ट्रिय बिमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ भने राष्ट्रिय जीवन बिमा कम्पनीको पुँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ। तर बिमा क्षेत्र नियामक निकायले तोकेको पुँजी वृद्धि लक्ष्य भने अझै पूरा हुन सकेको छैन ।

राष्ट्रिय बिमा कम्पनीले बिमा प्राधिकरणले निर्धारण गरेको करिब साढे २ अर्ब रुपैयाँ पुँजी पुर्याउन बाँकी रहेको बताइएको छ । त्यस्तै राष्ट्रिय जीवन बिमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशन जारी गर्ने प्रक्रिया पूरा गरेपछि मात्र ५ अर्ब रुपैयाँ पुँजी पुर्याउने योजना अगाडि बढाउने तयारीमा रहेको जनाइएको छ ।

तर साधारण सभा समयमा नहुँदा कम्पनीहरुले आवश्यक प्रस्तावहरु पेश गर्न नपाएका, लेखापरीक्षण प्रक्रिया अवरुद्ध भएको र नियामक निकायका निर्देशनहरु पूर्ण रुपमा पालना नभएको अवस्था देखिएको छ ।

सरकारी स्वामित्वका कम्पनी भए पनि निर्णय कार्यान्वयनमा ढिलाइ र कमजोर समन्वयका कारण अपेक्षित सुधार हुन नसकेको सरोकारवालाहरुको आरोप छ । नियामक निकायले तोकेको निर्देशनहरु कार्यान्वयन नहुनु र समयमै साधारण सभा नबोलाइनुले कम्पनीहरुको सुशासन प्रणालीमाथि प्रश्न उठाएको छ ।

बिमा क्षेत्रजस्तो संवेदनशील वित्तीय क्षेत्रमा सरकारी कम्पनीहरुको यस्तो ढिलासुस्तीले समग्र प्रणालीमै नकारात्मक प्रभाव पार्ने विज्ञहरुको धारणा छ।

Leave Your Comment

Related News