काठमाडौं ।आगामी तीन दिन देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखालौ जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धेरैजसो भूभागमा बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी बढ्ने संकेत गरिएको छ।
२०८३ जेठ ११ गते सोमबार रातिदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित हिमाली क्षेत्रहरूमा सामान्यदेखि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको जनाइएको छ।
मंगलबार (जेठ १२) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। ती क्षेत्रमा केही स्थानमा तथा मधेश प्रदेशसहित तराई र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हल्का वर्षा हुन सक्ने अनुमान छ।
यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना देखिएको छ। मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भाबना रहेको छ
बुधबार (जेठ १३) कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुनसक्ने संभाबना रेहो छ । कोशी, बागमती र गण्डकीका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
मौसम पुर्वानुमानमहाशाखाले विशेषगरी चट्याङ, हावाहुरी र तातो मौसमबाट सतर्क रहन आग्रह गरेको छ। हिमाली तथा पहाडी क्षेत्रको यात्रा गर्नेहरूलाई मौसमको अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।


