CLI

संघ, प्रदेश र स्थानीय तहको कस्तो एकीकृत वित्तीय विवरण ?

काठमाडौं । तीन तहको सरकारको वित्तीय विवरणमा राजस्व संकलन सुधारोन्मुख रहेको छ । अर्थमन्त्रालयका अनुसार तीन तहको राजस्व संकलन बढेको बताइएको छ ।

आर्थिक सर्वेक्षण २०८२/८३ प्रतिवेदन अनुसार  आर्थिक वर्ष २०८१/८२ मा तीन तहका सरकारको राजस्व सङ्कलन (समग्र सञ्चित कोष र विभाज्य कोषमा जम्मा भएको राजस्व) ११.४ प्रतिशतले वृद्धि भई रु. १२ खर्ब ८१ अर्ब ७० करोड पुगेको छ। कुल सङ्कलित राजस्वमध्ये संघबाट सङ्कलित राजस्वको हिस्सा ९२.१ प्रतिशत र प्रदेश तथा स्थानीय तहबाट सङ्कलित राजस्वको हिस्सा ७.९ प्रतिशत रहेको छ। त्यसैगरी कुल सङ्कलित राजस्वमध्ये कर राजस्व ८७.१ प्रतिशत र गैरकर राजस्व १२.९ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा तीन तहका सरकारको राजस्व सङ्कलन १०.४ प्रतिशतले बढेको थियो।

आर्थिक वर्ष २०८१/८२ मा सङ्घीय इकाइ (संघ, प्रदेश र स्थानीय तह) को सञ्चित कोषको राजस्व ११.३ प्रतिशतले वृद्धि भई रु. १२ खर्ब ७२ अर्ब ७५ करोड पुगेको छ। कुल राजस्वमध्ये संघ, प्रदेश र स्थानीय तहको सञ्चित कोषमा रहेको राजस्वको हिस्सा क्रमशः ८१.१ प्रतिशत, ८.४ प्रतिशत र १०.५ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा तीन तहका सरकारको सञ्चित कोषको राजस्व १०.४ प्रतिशतले बढेको थियो।

एकीकृत आय (राजस्व, अनुदान र अन्य प्राप्ति)

आर्थिक वर्ष २०८१/८२ मा तीन तहका सरकारको कुल आय (बाँडफाँट गर्न बाँकी राजस्व बाहेक) १०.४ प्रतिशतले वृद्धि भई रु. १३ खर्ब २६ अर्ब ३१ करोड पुगेको छ। कुल आयमध्ये राजस्वको हिस्सा ९६.० प्रतिशत र वैदेशिक अनुदान, अन्य प्राप्ति तथा आन्तरिक ऋण लगानी फिर्ताको हिस्सा ४.० प्रतिशत रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा तीन तहका सरकारको कुल आय ६.५ प्रतिशतले बढेको थियो।

एकीकृत प्राप्ति (राजस्व, अनुदान, अन्य प्राप्ति र सार्वजनिक ऋण परिचालन)

आर्थिक वर्ष २०८१/८२ मा अनुदान हस्तान्तरण बाहेक तीन तहका सरकारको कुल प्राप्ति (बाँडफाँट गर्न बाँकी राजस्व र अन्य समायोजन बाहेक) १५.० प्रतिशतले वृद्धि भई रु. १७ खर्ब ८२ अर्ब ४० करोड (जीडीपीको २८.७ प्रतिशत) पुगेको छ। कुल प्राप्तिमध्ये संघ, प्रदेश र स्थानीय तहको हिस्सा क्रमशः ८६.३ प्रतिशत, ६.१ प्रतिशत र ७.६ प्रतिशत रहेको छ। कुल प्राप्तिमध्ये ऋण परिचालनको हिस्सा २५.६ प्रतिशत र राजस्व, अनुदान तथा अन्य आयको हिस्सा ७४.४ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा अनुदान हस्तान्तरण बाहेक तीन तहका सरकारको कुल प्राप्ति ३.३ प्रतिशतले बढेको थियो।

 

संघीय सञ्चित कोष

आर्थिक वर्ष २०८१/८२ मा संघीय सञ्चित कोष रु. २७ अर्ब ९९ करोड ६० लाखले धनात्मक रहेको छ। यससँगै संघीय सरकारको सञ्चित कोषमा सुधार भई २०८२ असारसम्म रु. २ अर्ब ३६ करोडले ऋणात्मक रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा सञ्चित कोष रु. ४७ अर्ब ९ करोड ३ लाखले ऋणात्मक रहेको थियो।

संघीय सरकारको वित्त स्थिति (वार्षिक तथ्याङ्कमा आधारित)

आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारी खर्च ८.६ प्रतिशतले वृद्धि भई रु. १५ खर्ब १३ अर्ब २५ करोड पुगेको छ। यस अवधिमा चालु खर्च ३.० प्रतिशत, पूँजीगत खर्च १६.६ प्रतिशत र वित्तीय व्यवस्थातर्फको खर्च २२.२ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा ऋणको साँवा भुक्तानीतर्फको खर्च ३०.४ प्रतिशतले बढेकाले चालु र पूँजीगत खर्चको तुलनामा वित्तीय व्यवस्थातर्फको खर्चको वृद्धि दर उच्च रहेको छ।

Leave Your Comment

Related News