काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ गतेको आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ।
कांग्रेसले प्रतिवेदनबारे धारणा सार्वजनिक गर्दै आयोगको सिफारिसबारे सरकारले आफ्नो जवाफदेहिता अंगीकार गरेर आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग गरेको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेले बिहीबार जारी गरेको विज्ञप्तिमा विगतको सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको अधुरो, अपूर्ण तथा सीमित अनुसन्धानलाई मानव अधिकार आयोगको यो प्रतिवेदनले समेत अपर्याप्त देखाएको जनाएको छ। स्वयं आयोगकै अध्यक्षमाथि सूक्ष्म अनुसन्धान गर्नुपर्ने औँल्याएकाले सरकारले यस सम्बन्धमा तत्काल अनुसन्धान सुरु गर्नुपर्ने कांग्रेसको भनाइ छ।
राष्ट्रिय मानव अधिकार आयोगले स्वयं कार्की आयोगकै अध्यक्षमाथि समेत सूक्ष्म अनुसन्धान आवश्यक रहेको उल्लेख गरेको भन्दै उक्त आयोगको निष्पक्षतामाथि प्रश्न उठाइएको छ। साथै, आम निर्वाचनअघि प्रतिवेदन सार्वजनिक नगरिनुमा नियोजित उद्देश्य रहेको कांग्रेसको शंका बलियो भएको उल्लेख गरिएको छ।
आन्दोलनको प्रारम्भिक चरण संविधानप्रदत्त अधिकारसँग सम्बन्धित भए पनि पछि योजनाबद्ध हिंसात्मक गतिविधि, आगजनी, हत्या, लुटपाट तथा सार्वजनिक र निजी सम्पत्तिमाथि आक्रमण भएको प्रतिवेदनले देखाएको उल्लेख छ। हिंसात्मक गतिविधिमा संलग्न जोसुकैलाई राजनीतिक संरक्षणबिना कानुनी कारबाही गर्नुपर्ने माग गरेको छ।
राज्य संयन्त्रको असफलता र सुरक्षा निकायद्वारा भएको अत्यधिक बल प्रयोगलाई पनि मानव अधिकार उल्लङ्घनका रूपमा आयोगले औँल्याएको भन्दै दोषीमाथि कानुनी कारबाही हुनुपर्नेमा जोड दिएको छ।
राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसबारे सरकारले आफ्नो जवाफदेहितालाई अङ्गीकार गर्दै आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको छ।



