काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।
बैठकमा रास्वपाका सभापति लामिछानेसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य, सांसद दीपक बोहोरा तथा कानुनमन्त्री सोबिता गौतम सहभागी छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सांसद साहजना खातुन बैठकमा उपस्थित छन्। त्यस्तै नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महर पनि बैठकमा सहभागी भएका छन्।
बैठकमा नेकपाका सहसंयोजक माधव नेपाल, सांसद वर्षमान पुन, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक खुस्बु ओली तथा जसपा नेपालका राष्ट्रियसभा सदस्य महमोद खालिल पनि उपस्थित छन्।
यद्यपि श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङ नेतृत्वको टोली भने समाचार तयार पार्दासम्म बैठकमा सहभागी भएको देखिएको छैन।
बैठकमा समसामयिक राजनीतिक विषय, संसद्को कार्यसूची तथा दलहरूबीचको समन्वयका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। बैठकपछि थप निर्णय र निष्कर्ष सार्वजनिक गरिने जनाइएको छ।


