काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा नेपाल राष्ट्र बैंक ऐन (तेस्रो संशोधन) विधेयक प्रस्तुत हुने भएको छ। बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त विधेयक सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
बैठकको प्रारम्भमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गरिएको जानकारी गराउनेछन्। त्यसपछि आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल सुरु हुनेछ।
अर्थमन्त्री वाग्लेले वक्तव्यसहित आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। प्रस्तावमाथि सांसदहरूले धारणा राखेपछि बजेटमाथिको औपचारिक छलफल अगाडि बढ्नेछ।
छलफलका क्रममा उठेका प्रश्न र जिज्ञासाको जवाफ पनि अर्थमन्त्री वाग्लेले दिने कार्यसूची छ। त्यसपछि उनले विनियोजन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्नेछन्।
यस्तै, सरकारले आगामी आर्थिक वर्षका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न राष्ट्र ऋण उठाउने विधेयक पनि आजकै बैठकमा पेश गर्ने तयारी गरेको छ।
आजको बैठक बजेट कार्यान्वयन, मौद्रिक व्यवस्थापन तथा वित्तीय क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू अघि बढाउने दृष्टिले अर्थपूर्ण मानिएको छ।


