काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त दुई मन्त्रीको शपथग्रहण समारोह जारी रहेको छ। प्रधानमन्त्री बालेन शाहको सिफारिसमा गृह मन्त्रालयको जिम्मेवारीमा नियुक्त सुधन गुरुङ तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त प्रतिनिधिसभा सदस्य महावीर पुनले पद तथा गोपनीयताको शपथ लिँदैछन्।
शपथग्रहण समारोह राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित गरिएको हो। समारोहस्थलमा मुसलधारे वर्षा भइरहेका बीच संवैधानिक मर्यादाअनुसार कार्यक्रम सञ्चालन भइरहेको छ।
समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रिपरिषद्का सदस्यहरू, सांसदहरू तथा उच्चपदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको छ।
नवनियुक्त मन्त्रीहरूको शपथसँगै सरकारले मन्त्रिपरिषद्लाई थप पूर्णता दिएको छ। गृह मन्त्रालयको नेतृत्व सम्हाल्न लागेका सुधन गुरुङले आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था तथा प्रशासनिक व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन् भने महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व गर्दै अनुसन्धान, नवप्रवर्तन र प्रविधि विकासका क्षेत्रमा काम गर्ने अपेक्षा गरिएको छ।
शीतल निवासमा वर्षाका बीच सम्पन्न हुन लागेको यो शपथग्रहण समारोहलाई वर्तमान सरकारको मन्त्रिपरिषद् विस्तारको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


