CLI

फिफा विश्वकप २०२६ : डीगोले ल्यायो ५४९ रुपैयाँको मोबाइल पास

काठमाडौं । नेपालमा फिफा विश्वकप २०२६ को आधिकारिक डिजिटल प्रसारण साझेदार डीगोले विश्वकप हेर्न चाहने दर्शकका लागि नयाँ ‘मोबाइल–ओन्ली’ पास सार्वजनिक गरेको छ।

कम्पनीले मंगलबार प्रेस विज्ञप्तिमार्फत उक्त पासको मूल्य करसहित ५४९ रुपैयाँ निर्धारण गरिएको जनाएको हो।

विश्वकप सुरु हुन केही दिन बाँकी रहँदा डीगोले नेपाली दर्शकलाई लक्षित गर्दै मोबाइलमार्फत खेल र्हे सकिने विशेष प्याकेज ल्याएको जनाएको छ। कम्पनीका अनुसार दर्शकहरुले डीगो एपमार्फत विश्वकपका सबै १०४ खेल नेपाली वा अंग्रेजी कमेन्ट्री (दुबै)मा प्रत्यक्ष हेर्न सक्नेछन्।

विज्ञप्तिअनुसार मोबाइल–ओन्ली पास खरिद गरेपछि प्रयोगकर्ताले १०८० पी (फुल एचडी) गुणस्तरमा खेलहरु प्रत्यक्ष प्रसारण हेर्न पाउनेछन्। डीगोले एपभित्रै केही क्लिकमा पास सक्रिय गर्न सकिने व्यवस्था गरिएको पनि जनाएको छ।

विज्ञप्तिमा डीगोले दर्शकलाई अनाधिकृत स्ट्रिमिङ लिंक तथा नक्कली प्लेटफर्मबाट सावधान रहन आग्रह गरेको छ। यस्ता माध्यम प्रयोग गर्दा व्यक्तिगत तथा बैंकिङ जानकारी जोखिममा पर्न सक्ने भन्दै कम्पनीले आधिकारिक डीगो एपमार्फत मात्र विश्वकप हेर्न अनुरोध गरेको छ।

नेपालमा फिफा विश्वकप २०२६ का खेलहरु टेलिभिजनतर्फ हिमालय स्पोर्टस च्यानलमार्फत प्रसारण हुने व्यवस्था गरिएको छ। फिफाले नेपालका लागि दिएको विशेष प्रसारण अधिकारका कारण विदेशी टेलिभिजन च्यानल वा स्ट्रिमिङ प्लेटफर्मले नेपालभित्र विश्वकप प्रसारण गर्न नपाउने व्यवस्था रहेको छ।

विश्व फुटबलको महाकुम्भ बिहीबार मध्यरातिबाट सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक राष्ट्रमध्येको एक मेक्सिकोले दक्षिण अफ्रिकासँग खेल्नेछ। खेल नेपाली समयअनुसार १२ः४५ बजे हुनेछ।

Leave Your Comment

Related News