CLI

धुलिखेल–खावा सडक खण्डमा १५ दिन टिप्पर सञ्चालन बन्द

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्यलाई तीव्रता दिन १५ दिनसम्म टिप्पर सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा सोमबार बसेको बैठकले धुलिखेल–खावा सडक खण्डको बाँकी निर्माण कार्य सम्पन्न गर्न एक लेन सडक बन्द गर्नुपर्ने भएकाले असार १४ गतेदेखि असार २८ गतेसम्म टिप्पर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

बैठकले उक्त अवधिमा टिप्पर सञ्चालन बन्द गर्नुका साथै अन्य सवारीसाधनलाई पनि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सो सडक खण्डमा प्रवेश गर्न नदिने निर्णय गरेको जनाएको छ। एम्बुलेन्स लगायत अत्यावश्यक सेवाका सवारीसाधनलाई भने पूर्ववत् रूपमा सञ्चालन गर्न दिइनेछ।

सवारी आवागमन प्रभावित हुने अवधिमा वैकल्पिक मार्ग व्यवस्थापन तथा सवारी डाइभर्सनका लागि सडक डिभिजन कार्यालय भक्तपुरले जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर, दोलखा तथा सिन्धुपाल्चोकसँग आवश्यक समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ।

अरनिको राजमार्गअन्तर्गत धुलिखेलदेखि खावासम्म करिब ४.५ किलोमिटर सडक विस्तार तथा स्तरोन्नतिको काम जारी रहेको छ। आयोजनाअन्तर्गत हालसम्म करिब २.५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ। प्रशासनले निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न यातायात व्यवस्थापनसम्बन्धी निर्णय गरिएको जनाएको छ।

Leave Your Comment

Related News