काठमाडौं । राष्ट्रिय धान दिवसको अवसरमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सबै राजनीतिक दल, सरकार र सरोकारवाला निकायबीच साझा प्रतिबद्धता आवश्यक रहेको जनाएको छ।
संसदीय दलका नेता भीष्मराज आङ्देम्बेद्वारा जारी विज्ञप्तिमा बर्सेनि धान तथा चामलको आयात बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय धान दिवसलाई केवल उत्सवका रूपमा सीमित नराखी कृषि विकासप्रतिको साझा प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ।
विज्ञप्तिमा उर्वर कृषि भूमि बाँझो रहने अवस्थाको अन्त्य गर्दै युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्न, कृषिलाई सम्मानित र लाभदायी पेशाका रूपमा विकास गर्न तथा उत्पादन र उत्पादकत्व बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख छ।
कांग्रेसले किसानको हक–हितको संरक्षण, कृषि क्षेत्रको आधुनिकीकरण, खाद्य सुरक्षाको सुनिश्चितता तथा कृषिको दिगो विकासप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
साथै, संविधानले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक सुनिश्चित गरेको उल्लेख गर्दै उक्त हकको प्रभावकारी कार्यान्वयनका लागि किसानमैत्री नीति, उत्पादनमुखी कृषि प्रणाली र कृषि क्षेत्रमा राज्यको लगानीलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको पनि विज्ञप्तिमा जोड दिइएको छ।
कांग्रेसले राष्ट्रिय धान दिवसले कृषि उत्पादन वृद्धि, किसानको सम्मान, खाद्य सुरक्षाको सुदृढीकरण तथा समृद्ध नेपालको निर्माणका लागि सबैलाई थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।


